धरान: ग्यालेक्सी काठमाण्डौं एमेच्योर खुल्ला गल्फ प्रतियोगिता २०२६ मा पदमहाङ लिम्बू ग्रस विजेता बनेका छन् । 

आज (शनिबार) धरान १८ स्थित गल्फ कोर्षमा सम्पन्न प्रतियोगितामा ३ अण्डर ६७ खेल्दै पदमहाङ ग्रस विजेता बनेका हुन् । वान ह्याण्डीक्याप खेलाडी रहेका उनले ग्रस २ अण्डर खेलेका थिए । 

यसैगरि, १३ ह्याण्डीक्याप खेलाडी खेम राई ५ अण्डर ६५ स्कोरका साथ नेट विजेता भए । उनले कुल ८ ओभर ७८ खेलेका थिए । यस्तै, सिद्धान्त सापकोटा नेट फष्ट रनरअप र गणेश जिमी सेकेण्ड रनरअप भए । 

यसैगरि, भेट्रानतर्फ वमप्रसाद लिम्बू विजेता हुँदा जुनियरतर्फ सुरज परियार विजेता र दिपेश श्रेष्ठ उपविजेता भए । प्रतियोगितामा नियरेष्ट टु दि पिन (१७ होल)को पुरस्कार सुमन भुजेल, लङ्गेष्ट ड्राइभ (१८ होल) को पुरस्कार भीम दाहाल र मोष्ट बर्डिज (४ वटा) को पुरस्कार श्याम लिम्बूले जिते । 

विजेता खेलाडीहरुलाई आयोजक धरान गल्फ संघका अध्यक्ष हरिबहादुर राई, नेपाल गल्फ संघका केन्द्रीय उपाध्यक्ष तिलक राई, कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयेस प्याकुरेल, जिल्ला गल्फ संघका अध्यक्ष जितेन्द्र राई, नेपाल प्रहरीका एसएसपी भीम दाहाललगायतले पुरस्कार वितरण गरेका थिए । 

प्रतियोगितामा २ जना भारतीय खेलाडीसहित ६४ जना एमेच्योर खेलाडीहरु सहभागी भएको आयोजक क्लबले जनाएको छ । प्रतियोगिता ग्यालेक्सी काठमाण्डौंको प्रायोजन र धरान गल्फ क्लबको आयोजनामा पहिलो पटक भएको हो ।

प्रतियोगिताका ग्रस र नेट विजेता खेलाडीहरुलाई ३० हजार ५ सय बराबरको गल्फ ब्याग र पञ्जा पुरस्कार स्वरुप दिइएको थियो । अन्य विजेता खेलाडीहरुलाई पनि गल्फमा आवश्यक पर्ने सामग्रीहरु नै प्रदान गरिएको थियो । प्रतियोगिताको लागि प्रायोजक ग्यालेक्सी काठमाण्डौंले २ लाख रुपैया उपलब्ध गराएको थियो । 

galaxy golf1