धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको स्ट्रोक टिम (विद्यार्थी शाखा) र धरान उपमहानगरपालिका वडा नं ६ को संयुक्त आयोजनामा मास्तिष्कघात सचेतना तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
वडा नं ६ स्थित पानबारीमा आयोजित शिविरमा स्थानीयबासीहरुको उत्साहजनक सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । स्ट्रोक (मास्तिष्कघात) सम्बन्धी जनचेतना अभिवृद्धि गर्नु, जोखिम कारकहरूको पहिचान गर्नु तथा समयमै उपचारको महत्वबारे जानकारी गराउनु शिविरको मुख्य उद्देश्य रहेको स्ट्रोक टिम (विद्यार्थी शाखा)ले जनाएको छ ।
कार्यक्रममा विशेषगरी ‘BEFAST’ विधिमार्फत स्ट्रोकका प्रारम्भिक लक्षण चिन्न सिकाइएको थियो भने थ्रोम्बोलाइसिस जस्तो समय–संवेदनशील उपचारबारे पनि चिकित्सकहरुले जानकारी दिएका थिए । शिविरमा न्यूरोमेडिसिनबाट डा. भुपेन्द्र शाह, न्यूरोसाइकेट्रीबाट डा. संजीव मिश्र, जनरल मेडिसिनबाट डा. अजय यादव तथा पोषण सम्बन्धी विशेषज्ञ टोलीबाट निःशुल्क ओपीडी सेवा प्रदान गरिएको थियो।
यस्तै, रक्तचाप (हाइपरटेन्सन), रगतमा चिनीको मात्रा (डायबिटिज), बडी मास इन्डेक्स (बिएमआई) मापनको स्क्रिनिङ समेत गरिएको थियो। कार्यक्रमका क्रममा उच्च रक्तचाप, मधुमेह र मोटोपनजस्ता जोखिम भएका व्यक्तिहरूको पहिचान गरिएको स्ट्रोक टिमले जनाएको छ ।
शिविरबाट कुल १४७ जना लाभान्वित भएका छन्। सहभागीहरूलाई स्वास्थ्य जीवनशैली अपनाउन, नियमित औषधि सेवन गर्न तथा लक्षण देखिएमा तुरुन्त अस्पताल पुग्न सुझाव दिइएको थियो।







