धरान: 'पेडल फर चाइल्ड एजुकेशन' नारा दिएर आयोजित साइक्लोक्रस थ्री साइकल रेसमा राष्ट्रिय खेलाडी दिपसागर तामाङ प्रथम भएका छन् । महिलातर्फ भने इन्द्रकला नेम्बाङ प्रथम भएकी छिन् । 

रोटरी क्लब अफ धरानको आयोजना तथा रोट्याक्ट क्लब अफ धरानको सह–आयोजनामा सम्पन्न रेसमा दिपसागरले १५ किलोमिटर दुरी ५५ मिनेटमा पुरा गर्दै प्रथम भएका हुन् । यस्तै, सशस्त्र प्रहरीबाट प्रतिनिधित्व गरेका किरण राई ५५.०५ मिनेटमा दुरी पुरा गर्दै दोस्रो हुँदा धरानका बादल लिम्बूले ५९ मिनेट २१ सेकेन्डमा दुरी पुरा गर्दै तेस्रो भए । यस्तै, सिम्बाङ लिम्बू १ घण्टा २ मिनेट ४१ सेकेन्डमा दुरी पुरा गरेर चौथो र निमान शेर्पा (उदयपुर) ले पाँचौं स्थान हासिल गरेका थिए ।

महिला तर्फ इन्द्रकला नेम्बाङ प्रथम भइन् भने भेट्रान (४०ं) तर्फ पदमबहादुर राई प्रथम भएका थिए । प्रतियोगितामा विजेता दिपसागरले मेडल, सर्टिफिकेटसहिन नगद १५ हजार, दोस्रो भएका किरणले नगद १० हजार, तेस्रो भएका बादलले नगद ५ हजार, चौथो भएका सिम्बाङले नगद ३ हजार र पाँचौ स्थान भएका निमानले नगद २ हजार, मेडल र सर्टिफिकेट हात पारे । महिलातर्फ प्रथम भएकी इन्द्रकलाले नगद ५ हजार र भेट्रानतर्फको विजेता पदमबहादुरले पनि नगद ५ हजार, मेडल र सर्टिफिकेट हात पारे । 

cycle copy

आयोजकले प्रतियोगितात्मक साइक्लोक्रस थ्रीसँगै च्यारिटी रेस साइक्लोफन फोर पनि आयोजना गरेका थियो । आयोजक संस्थाका अध्यक्ष फिरोज श्रेष्ठका अनुसार कार्यक्रममा १५० भन्दा बढी साइक्लिष्टहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा नेपालका काठमाडौं, ललितपुर, उदयपुर, बिर्तामोड, झिलझिले, पथरी, विराटनगर, इटहरी, तरहरा, धरान लगायतबाट साइक्लिष्टहरु सहभागी भएका थिए भने भारतको पश्चिम बंगालअन्तर्गत सिलिगुडी, दार्जिलिङ र बिहारको फारबिस्गञ्जबाट पनि सहभागी भएका थिए । 

धरानको भानुचोकबाट सुरु भएको साइकल रेस विभिन्न स्थान हुदै धरान १६ स्थित भगवती आधारभूत विद्यालयमा पुगेर समापन भएको थियो् । प्रतियोगिताअन्तर्गत साइक्लोक्रस १५ किलोमिटर तथा साइक्लोफन १० किलोमिटर दूरीमा सञ्चालन गरिएको थियो । कार्यक्रमबाट संकलित रकमबाट उक्त विद्यालयमा बाल खेल उद्यान (प्ले स्टेशन)  निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ। यो सहयोगले विद्यार्थीहरूको मनोरञ्जन, शारीरिक विकास तथा सिर्जनात्मक गतिविधिमा सकारात्मक टेवा पुग्ने अध्यक्ष श्रेष्ठले बताए । 
cycle2

कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघा रहेका थिए। विशेष अतिथिका रूपमा वडा नं. १६ का वडा अध्यक्ष मुरारी प्रसाद भट्टराई तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुनिल नेपालको उपस्थिति रहेको थियो । कार्यक्रममा फरक क्षमता भएका सहभागीहरूलाई समेत समेट्दै विभिन्न विधामा पुरस्कार वितरण गरिएको कार्यक्रमका मुख्य संयोजक बिनय लाल श्रेष्ठले जानकारी दिए । 

cycle4