धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई पेष्ट प्रो सोलुसन प्रालिले करिब ४८ लाख बराबरको आवश्यक मेडिकल सामग्रीहरु सहयोग गरेको छ ।
आर्थिक संकटबाट गुज्रिरहेको प्रतिष्ठानलाई आर्थिक एवं भौतिक सहयोग गर्न उपकुलपति प्रा.डा.बिक्रमप्रसाद श्रेष्ठले आह्वान गरेपछि प्रालिले सहयोग गरेको हो । उपकुलपति श्रेष्ठको आह्वान पछि सहयोग गर्ने दाताहरु मध्ये पेष्ट प्रो सोलुसन सबैभन्दा बढी मुल्यमा सहयोग गर्ने संस्था भएको पनि प्रतिष्ठानले जनाएको छ । सोमबार एक कार्यक्रममार्फत प्रालिकी प्रोपाइटर सुप्रिया माझी वनेपाली र उनका श्रीमान दिपक वनेपालीले उपकुलपति प्रा.डा.श्रेष्ठलाई सामग्रीहरु हस्तान्तरण गरेका थिए ।
प्रालिका अनुसार कुल ४७ लाख लाख ८८ हजार ७ सय मुल्य बराबरको सामग्रीहरु प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ । प्रतिष्ठानका उपकुलपति प्रा.डा.श्रेष्ठले दाता दम्पत्तिलाई धन्यवाद दिदै अहिलेसम्मकै ठुलो सहयोग भएको बताए । साथै उनले आफुले प्रतिष्ठानमा जिम्मेवारी लिदा चरम आर्थिक संकटमा रहेको र अझै पनि संकटकै अवस्थामा रहेको बताए ।

‘त्यसैले वीपीलाई बनाउन भित्रको मान्छे मात्र होइन, बाहिरको मान्छेले पनि सहयोग गर्नुपर्छ भनेर सोच राखेर एकपटक नगरबासीहरुसँग आह्वान गरेका छौं,’ उपकुलपति प्रा.डा.श्रेष्ठले भने,‘हामीले धेरै सहयोग पाइरहेका छौं । आज सहयोग भएको यी सबै सामानहरु काम लाग्ने हो । आजसम्मको सबभन्दा ठुलो सहयोग हो यो । धेरै खुशी छौं, आभारी छौं ।’
प्रतिष्ठानका अनुसार विभिन्न शाखाहरुबाट धेरै पटक माग भएपनि बोलपत्र गर्न नसक्दा समस्या भइरहेको थियो । ‘यी सामग्रीहरु धेरै उपयोगी छन् । जति पाएका छौं, ती सबै तुरुन्तै प्रयोग हुनेछ, आगामी दिनमा पनि सहयोगको अपेक्षा गछौं,’ इलेक्ट्रोमेड शाखा प्रमुख राहुल मिश्रले भने ।

प्रोपाइटर दीपक वनेपालीले प्रतिष्ठानलाई पुरानै अवस्थामा फर्काउन उपकुलपतिले सहयोगको आह्वान गरेपछि आफुहरुले सामग्रीहरु सहयोग गर्ने निर्णय गरेको बताए । ‘विपीलाई चाहिने सामानहरु हामीसँग थियो । उपुकलपति ज्युले भ्रष्टचार हुन नदिने र पुरानै शाख फर्काउने अभियान शुरु गरेर सहयोगको आह्वान गरेपछि साथ दिनुपर्छ भन्ने लागेर सहयोग गरेका हौं,’ उनले भने ।
भिडियो:







