धरान: घर परिवार एवं व्यवहारमा सिमित भएका विवाहित महिलाहरुको पनि क्षमता तथा प्रतिभा बाहिर ल्याउने उद्देश्यले हरेक बर्ष हुदै आएको मिसेस स्टेट वानको तेस्रो सिजन शुरु भएको छ ।

मिसेस स्टेट तेस्रो सिजनको पहिलो चरणको अडिशन शनिबार धरान ९ स्थित हाङकुक साराङ्ग कोरियन रेष्टुरेष्टमा भएको हो । शनिबार भएको अडिसनबाट छनौट भएकाहरुको नाम आइतबार मात्र सार्वजनिक गरिएको हो । वुमन वर्थ ग्रुपले आयोजना गरेको पहिलो चरणको अडिशनमा ४५ जना महिलाहरु सहभागी भएको अध्यक्ष सुजता श्रेष्ठले जानकारी दिइन् । ती मध्ये २५ जना छनौट भएको पनि उनले बताइन् ।

अडिशनमा ५२ बर्षकी रमा गौतम पनि सहभागी भएकी थिइन् । उनले विवाहित महिलाहरुको लागि कार्यक्रम आयोजना गरिएकोमा खुशी व्यक्त गर्दै आफ्नो लागि पनि अवसर ठानेर अडिशनमा सहभागी भएको बताइन् । 'यो कार्यक्रम हामी जस्ता विवाहित महिलाहरुको लागि महत्वपुर्ण प्लेटफर्म हो, हिजोआज जे जति कार्यक्रम हुन्छ, सबै अविवाहित युवाहरुको लागि मात्र हुन्छ,'उनले भनिन्,'हामी जस्ता विवाहित महिलाहरुलाई पनि प्रतिभा देखाउने यो मात्र एउटा प्लेटफर्म हो भन्ने लागेर आएकी हुँ ।' विजयपुर हस्पिटलमा कार्यरत स्टाफ नर्स भगी लिम्बुले पनि घर र अस्पतालमा सिमित भएको आफ्नो दैनिकीलाई उर्जा मिल्ने अपेक्षा राखेर अडिशनमा सहभागी भएको बताइन् ।

mrs-state-1

आयोजक संस्थाकी अध्यक्ष श्रेष्ठले समाजको विकासका लागि विवाहित महिलालाई नेतृत्व पंक्तिमा ल्याउन आवश्यक भएको बताइन् । विवाहित महिलाहरुले नै संस्था गठन गरेर विगत ३ वर्षदेखि मिसेस स्टेट वान कार्यक्रम र अन्य सामाजिक कार्यक्रमहरु आयोजना गरिरहेको उनले बताइन् । संस्थाकी उपाध्यक्ष उमा ताम्राकारले विवाहित महिलासँग परिवार जोडिने हुनाले विवाहित महिलाको क्षमता विकास भएमा परिवार र समाज नै अघि बढ्ने बताइन् । साथै, क्षमता भएर पनि घरभित्र सिमित भएका महिलाहरुको क्षमता, प्रतिभा प्रर्दशन गर्ने अवसर दिएर प्रोत्साहन गरिएको उनको भनाई छ । 'क्षमता भएर पनि महिलाहरुले आफु को हुँ भन्ने बिर्सिसकेका हुन्छन्, त्यस्ता महिलाहरुलाई समाजमा स्थापित गराउनको लागि यो कार्यक्रम शुरुवात गरिएका हो,'उपाध्यक्ष ताम्रकारले भनिन् ।

mrs-state-1-audition

 पहिलो चरणको अडिसनमा निर्णायकहरुमा कोरियोग्राफर डिजे ललित राई, महिला सञ्जजाल धरानकी अध्यक्ष तथा महिला अधिकारकर्मी सविता चाम्लिङ राई, मिसेस स्टेट वान सिजन २ की विजेता पुष्पा फोम्बो, मिस कोशी १९९८ तथा धरान फिट्नेस क्लबका सञ्चालिका कृति श्रेष्ठ र गायक डिल्ली फोम्बो रहेका थिए । अडिसनमा छनौट भएको प्रतियोगीहरूलाई २० दिनसम्म विभिन्न विषयमा तालिम दिइने ग्रुपकी सचिव छाँया श्रेष्ठले जानकारी दिइन् । पहिलो चरणको अडिसनमा आउन नपाएका अन्य इच्छुकहरुको लागि बुधबार बिहान पुनः दोस्रो चरणको अडिशन लिइने उनले बताइन् । आगामी चैत १५ गते हुने प्रतियोगीताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार रुपैया पाउनेछन् ।

DSC_1157