धरान: भाषा, सहित्य र सास्ँकृतिको संरक्षण, विकास र विस्तार गर्ने उद्देश्यले धरानम प्रादेशिक सम्मेलन गरिने भएको छ । भाषा विज्ञान समाज नेपाल र प्रा.डा.टंकप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्रको संयुक्त आयोजनामा फागुन २५, २६ र २७ गते सम्मेलन हुन लागेको हो ।

भाषा,साहित्य र सँस्कृतिको क्षेत्रमा भएका अध्ययन, अनुसन्धानबाट आएका निष्कर्षहरु कार्यपत्रकोरुपमा सम्मेलनमा प्रस्तुत हुनेछन् । ती कार्यपत्रहरुमाथि वृहत विचार, विमर्श हुने र प्रदेश तथा राष्ट्रियस्तरमा भाषा, साहित्य, सँस्कृतिको नीति निर्माणमा पनि महत्वपुर्ण सहयोग पुग्ने आयोजक केन्द्रका सचिव डा.रमेश लिम्बुले बताए । ‘यो कार्यक्रम पछि भाषा, साहित्यबारे एउटा परिदृष्य आउनेछ, त्यो प्रदेशलाई मात्र होइन, समग्र राष्ट्रलाई निधिकोरुपमा हुनेछ,’डा.लिम्बुले भने ।

धरान ८ स्थित गोर्खा डिर्पाटमेन्ट स्टोरको हलमा हुने सम्मेलन भाषा सम्बन्धी सैद्धान्तिक, व्याख्यात्मक, बहुआयामिक, प्रायोगिक एवं साहित्यिक तथा साँस्कृतिक केन्द्रीत हुने आयोजकले जनाएको छ । दुई हलमा सञ्चालन हुने कार्यक्रममा ६० वटा कार्यपत्रहरु प्रस्तुत हुनेछन् । नेपालबाहेक भारत र फ्रान्सबाट पनि विद्धानहरु सहभागी हुने आयोजक केन्द्रका अध्यक्ष प्रा.डा.रमेश घिमिरेले जानकारी दिए । ‘भाषा, साहित्य र सँस्कृतिको कुम्भ मेला नै हो, यसले सरकारलाई आफ्नो भाषा, सँस्कृति, साहित्यबारे आवश्यक नीति तर्जुमा गर्न सहयोग पुर्याउछ,’डा.घिमिरेले भने,‘धरानलाई प्राज्ञिक थलोकोरुपमा पनि विकास गर्छ ।’

अनुसन्धानकर्ता एवं प्राज्ञिक व्यक्तिहरुलाई आफ्ना विचार तथा अनुसन्धानको निष्कर्ष समाज, राष्ट्रको अघि प्रस्तुत गर्ने थलोकोरुपमा सम्मेलन आयोजना हुने अध्यक्ष डा.घिमिरेले बताए । ‘युवा अनुसन्धाताहरुले आफ्ना अनुसन्धानका निष्कर्षहरु प्रस्तुत गर्ने अवसर पाउनेछन्,स्थापित अनुसन्धाताहरुले आफ्नो प्राज्ञिक सन्दर्भहरुलाई विस्तार गर्ने मञ्च पाउनेछन्,’ डा.घिमिरेले भने,‘यो सम्मेलनले भाषिक, साहित्यिक तथा साँस्कृतिक अनुसन्धानका निष्कर्षहरुलाई प्रादेशिक, राष्ट्रिय एवं अन्र्तराष्ट्रियस्तरमा विस्तार गर्न मद्दत पुग्नेछ ।’ राजधानी काठमाण्डौंमा मात्र यस्ता कार्यक्रमहरु केन्द्रीत रहेको भन्दै उनले पहिलो पटक मोफसलमा हुन लागेको पनि बताए ।

bhasha-sahitya

सम्मेलनमा जनजातिय लोपोन्मुख भाषाहरुबारे गरिएको अध्ययन, अनुसन्धानहरुबारे कार्यपत्रहरु पनि प्रस्तुत हुने प्रा.डा.टंक न्यौपानेले बताए । ती भाषाहरु लोप हुदै गएपनि अभिलेखीकरण हुने उनको भनाई थियो । ‘धेरै आदिवासी जनजातिहरुको भाषाहरु लोप हुदै गएका छन्, ती भाषाहरुमा गरिएको अध्ययन, अनुसन्धानहरु प्रस्तुत हुनेछ । भाषा लोप भएपनि रेकर्डमा हुनेछ, अभिलेखीकरण हुनेछ,’भाषाविद् डा.न्यौपानेले भने ।

सम्मेलनमा प्रा.डा.नोवल किशोर राई र डा.नेत्रमणी दुमी राईले इलामका लाप्चा जाति र स्थान नामबारे कार्यपत्र प्रस्तुत गर्नेछन् भने प्रा.डा.दानराज रेग्मीले भुजेल भाषा र किरातीहरु बिचको अन्तरसम्बन्धबारे प्रस्तुत गर्नेछन् । यस्तै, डा.चैतन्य मिश्रले मुन्धुममा यौन, प्रेम विवाह दर्शनबारे, आइत खजुमले याक्थुङ लोकभाकाः परम्परा र निरन्तरताबारे, डा.रमेशकुमार लिम्बुले मातृभाषा र जीवन सँस्कृतिबारे, प्रा.डा.टंक न्यौपानेले प्रदेश एकको भाषिक परिदृष्यबारे पनि कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलनमा करिब १५ लाख खर्च लाग्ने अनुमान छ । सम्मेलनलाई सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरिएको आयोजकले जनाएको छ ।

भयवादबारे पुरस्कार दिइने

सम्मेलनको अन्तिम दिन भयवाद अध्ययन केन्द्रले स्थापना गरेको अन्र्तराष्ट्रियस्तरको पुरस्कार प्रदान गर्ने पनि कार्यक्रम राखिएको छ । प्रा.डा.टंक न्यौपानेका अनुसार २ सय डलर राशीको पुरस्कार यसबर्ष क्यानाडाका लेखक आर.फिसरलाई दिइनेछ । गत बर्ष यो पुरस्कार नाइजेरियाली लेखकले पाएका थिए । फिसरले फियरिज्म एण्ड इष्ट वेष्ट नलेज पुस्तक प्रकाशित गरेका छन् ।

कार्यक्रममा फिसर भने उपस्थित हुने छैनन् । उनले भिडियोमा करिब १५ मिनेट मन्तव्य दिनेछन् भने उनलाई पुरस्कृत गरिएको घोषणा गर्ने भयवाद अध्ययन केन्द्रले जनाएको छ । यो पुरस्कार भयवादका प्रर्वतक एवं लेखक देश सुब्बाले आफ्नी आमाको नाममा स्थापना गरेका हुन् । सोही कार्यक्रममा भारतीय लेखकको भयवादसम्बन्धी पुस्तक पनि विमाचन गरिनेछ ।