धरान: सरकारले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमण भएको शंकास्पद विरामी भेटिएमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पेइङ वान वार्डमा राखेर उपचार गर्ने तयारी गरेको छ ।

कोरोनाबारे आवश्यक पुर्वतयारी गर्न सरकारले पठाएको टोलीले प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा.गुरु खनाल र प्रतिष्ठानमा कोरोनाबारे यसअघि गठन भएको टिमसँग छुट्टाछुट्टै छलफल गरेर यस्तो तयारी गरेको हो । सरकारले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेललाई संयोजक तोकेर ३ जनाको टोली प्रदेश १ मा पठाएको छ । उक्त टोलीले प्रदेश १ को भारतसँगको नाकाको स्थलगत निरीक्षण गर्नुका साथै पुर्वतयारीबारे प्रदेश सरकार र चिकित्सकहरुसँग छलफल गरिरहेको छ । ‘हामीसँग कोरोनाबारे छलफल भयो, कोरोनाबारे गठन भएको टिमसँग पनि उहाँहरु बस्नुभयो,’कार्यवाहक उपकुलपति डा.खनालले भने,‘आइसोलेसन वेड, भेन्टिलेटर, मास्कलगायतको बिषयमा आवश्यक तयारीबारे छलफल भयो ।’

मन्त्रालयका आएको टोलीले प्रतिष्ठानले गठन गरेको कोरोनासम्बन्धी टिमबारे पनि छुट्टै छलफल गरेको थियो । विराटनगरमा सामाजिक विकास मन्त्रालयमा र कोशी अस्पतालमा पनि आवश्यक छलफल गरेर प्रतिष्ठानमा उपचारको लागि पुर्वतयारी गर्न छलफलको लागि आएको निर्देशक डोटेलले जानकारी दिए । ‘हाम्रो अवस्था के छ ? अब के गर्नुपर्ने हो भन्ने प्रष्ट भएको छ, त्यसैअनुसार तयारीमा जुटेका छौं,’उनल भने ।

corona

प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा.विकास साहका अनुसार शंकास्पद विरामीहरुलाई पेइङ वार्डमा राखेर उपचार गर्ने निर्णय गर्दै आवश्यक तयारीमा जुटेको जानकारी दिए । पेइङ वार्डको १० वटा कोठालाई क्वारेन्टाइन गरेर त्यहाँबाट केही पनि बाहिरिन नदिने गरी सर्तकता अपनाइने उनले जानकारी दिए । सिरियस विरामी भएमा र भेन्टिलेटर चाहिएमा माथिल्लो तलाको पेइङ पनि खाली गराएर उपचार गराउने तयारी भएको उनले खुलाए । यस्तै, आवश्यक पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट(पिपिइ) र मास्क,ग्लोब्सजस्ता सामानहरु तत्काल कतिपय प्रतिष्ठानले खरीद गर्ने र बाँकी सामाजिक विकास मन्त्रालय विराटनगरबाट व्यवस्थापनको लागि अनुरोध गर्ने बैठकले निर्णय पनि गरेको छ ।