विराटनगरः विपक्षी दल नेपाली काँग्रेसले धेरै दिनदेखि संसदमा एक सांसद नदेखेको भन्दै खोजी गर्न आग्रह गरेको छ । प्रदेश एक संसदको पाँचौ तथा हिउँदे अधिवेशनमा विशेष समय लिएर बोल्दै काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले सत्तपक्ष सांसद गुलेफुन मियाप्रति संकेत गर्दै यस्तो आग्रह गरेका हुन् ।

कार्कीले बालक हराए पत्रिकामा सुचना आउने भन्दै सांसद हराएको सुचना कहाँ दिने भन्दै ब्यङ्गात्मक प्रश्न गरे । ‘हामीले धेरै दिने देखि एक जना सांसदको बाहिर भित्र कतै हाजिरी देखेका छैनौँ,’कार्कीले भने,‘सभामुख महोदय, हराएको सांसदको खोजी गर्नुुपर्छ कि पर्दैन ? पत्रिकामा दिनुुपर्छ कि पर्दैन ?’ मिया किर्ते हस्ताक्षर प्रकरणमा अदालतबाट दोषी ठहरिएपछि फरार छिन् । उनको संसद पद बारे नेकपाले केही धारणा सार्वजनिक गरेको छैन । अहिलेसम्म संसद सचिवालयले समेत कुुनै सुचना जारी गरेको छैन ।


फरक प्रसंगमा कार्कीले कोरोना भाइरस संक्रमणले विश्व समस्यामा परेको बेला प्रदेश एक सरकारले तयारीका बारेमा जिज्ञासा राखे । उनले प्रदेश सरकार अन्तर्गत मुुख्यमन्त्री संयोजक हुने विशेष आपतकालिन कोष बारे व्यंग गर्दै भने,‘आपतकालिन कोष कहाँ र के कामका लागि राखिएका हो ?’ उनले तुरुन्त सरकारले सचेतना अपनाउन र सोही अनुसारका कार्यक्रम ल्याउन आग्रह गरे ।
जवाफमा सामाजिक विकास मन्त्री जीवन घिमिरले प्रदेश एक सरकारले भरपर्दो व्यवस्था गरेको भन्दै दुुइ देशका नाकाका विशेष निगरानी बढाइको जानकारी दिए । त्यस्तै प्रदेश भित्र रहेका विभिन्न ६ अस्पतालका २८ वेडलाई आइसोलेटेड बेडको रुपका विकास गरिएको जानकारी दिए ।