आसफोर्ड(बेलायत): बेपत्ता भएर खोजी भइरहेका आसफोर्ड निवासी युवा युगल लिम्बुलाई मृत अवस्थामा प्रहरीले फेला पारेको छ ।

केन्ट प्रहरीले खोलाछेउ तैरिरहेको अवस्थामा लिम्बुको शव बरामद गरेको हो । लिम्बु शनिबार मध्यरातको करिब साढे एक बजेदेखि बेपत्ता भएका थिए । ३३ वर्षीय लिम्बुको शव भिक्टोरिया पार्कछेउको रिभर स्टाउरमम तैरिएको अवस्थामा सोमबार अपराह्न फेला परेको थियो । ‘हामी अब आसफोर्डका एक बेपत्ता युवाबारे खोजी कार्यका लागि आग्रह गर्ने छैनौं,’ केन्ट प्रहरीलाई उद्धृत गर्दै स्थानीय केन्ट अनलाइनले उल्लेख गरेको छ, ‘हामीले युवाको शव भेटेका छौँ । परिचय औपचारिक रूपमा पुष्टि गर्न बाँकी छ । तथापि, उनको परिवारलाई जानकारी गराइसकेका छौँ ।’

मृतक लिम्बु धरान १० निवासी हुन् । उनी विगत चार वर्षदेखि आसफोर्डमा आफ्ना आमा र बुवासँग बस्दै आएका थिए । उनी नम्र र मृदुभाषी स्वभावको युवा रहेको उनका निकटहरूले बताए । आसफोर्डमा पछिल्लो समय नेपाली समुदायहरूको आगमन तीव्र रूपमा बढेको छ । भिक्टोरिया पार्कमा डेढ वर्षअघि पनि एक नेपाली युवा मृत अवस्थामा फेला परेका थिए ।