पोर्चुगल: पोर्चुगलको ग्रामीण इलाका फारोमा कृषि मजदुरको रुपमा काम गर्ने एक नेपाली नागरिकलाई कोरोना(कोभिड १९) संक्रमण भएको छ।

फारो नगरपालिकाका मेयर रोजेरिउ बाकलिआउले स्वास्थ्य निर्देशनालयको हवला दिँदै घटनाको पुष्टी गरेका छन् । फारोका मेयरले स्थानीयहरुलाई अतिआवश्यक काम बाहेक घरबाहिर ननिस्कन र सरकार एवं सरकारका अधिकारीहरूको निर्देशनलाई पालना गर्न समेत सबैलाई अपील गरेका छन् । कृषि क्षेत्रमा काम गर्ने व्यक्तिमा यो पहिलो संक्रमण भएको फारो नगरपालिकाले उल्लेख गरेको छ ।

संक्रमित कृषि मजदुर नेपाली नागरिक भएको पुष्टि भएतापनि उनको व्यक्तिगत विवरण बारे केही खुलाईएको छैन। कोरोना संक्रमित ति नेपाली कति मानिससँग काम गर्दथे, कसरी बस्थे र उनको सम्पर्कमा कति जना कामदारहरु रहेका थिए भनेर अनुसन्धान भईरहेको पनि नगरपालिकाले जनाएको छ । साथै, कोरोनाबाट अन्यलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने उपायहरू तुरुन्त अवलम्बन गरिने पनि फारो नगरपालिकाले जनाएको छ ।