धरान: कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगाउन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले स्नातक तहको पठनपाठन स्थगित गरेको छ ।

सरकारले नै २५ जना भन्दा बढी भेला हुन बन्द गराउने निर्णय गरेको कारण प्रतिष्ठानले पनि पठनपाठन बन्द गराएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरले प्रतिष्ठानको स्नातक तहको एमबिबिएस, बिडिएस, बिएमआइटिलगायतको पठनपाठन स्थगित गरिएको जानकारी दिए । ‘कक्षामा २५ जना भन्दा बढी नै हुन्छन्, त्यसैले सरकारको निर्णयलाई ध्यानमा राखेर पढाई स्थगित गर्ने निर्णय भएको हो,’ऐरले भने ।

उनका अनुसार स्नातकोत्तर तहको एमबिड, एमएस, एमडिएसलगायतको भने स्थगित नहुने प्रष्ट पारे । स्नातकोत्तर तहकाहरु डाक्टरकोरुपमा नै रजिष्ट्रार भइसकेका जनशक्ति भएकोले उनीहरुको पढाई नरोकिने डा.ऐरले बताए । ‘उहाँहरु रजिष्ट्रार र दक्ष जनशक्ति हो, सधै फिल्डमा नै खटिनुपर्ने भएकोले विदा दिन हुदैन,’उनले भने ।

सकेसम्म अस्पताल नआउन आग्रह

प्रतिष्ठानका चिकित्सकले सकभर अस्पताल नआउन पनि आग्रह गरेका छन् । धेरै खालको विरामीहरु अस्पतालमा पुग्ने भएकोले संक्रमणको जोखिम हुने भएकोले अत्यावश्यक अवस्थामा मात्र अस्पताल आउन प्रतिष्ठानका सहप्रवक्ता डा.ऐरले बताए । ‘अस्पताल आवश्यक परेमात्र आउनुहोला, विरामी भेट्न पनि नआउने र आउन परे एक जना मात्र आउन ठिक हुन्छ,’डा.ऐरले भने,‘आवश्यक सुझाव सल्लाह फोनबाटै लिदा हुन्छ भने अस्पताल नगएकै राम्रो ।’