धरान: बुधबार धरानको तीनकुनेदेखि इटहरीको पानीपियासम्म वृहत वृहत सरसफाई अभियानको क्रममा २ हजार किलोभन्दा बढी फोहोर भेटिए पछि धरान उपमहानगरपालिकाले फोहोर नियन्त्रण गर्न आवश्यक पहल थालेको छ ।

यसरी पर्यावरण तथा स्वास्थ्यलाई नै गम्भीर असर पर्ने गरि जथाभावी फोहोर फालेको पाइए पछि आज बिहिबार उपमहानगरपालिकाले एक सुचना जारी गर्दै कानुन वमोजिम कारबाही गर्ने जनाएको हो । वातावरण अधिकृत भेषराज घिमिरेले सुचना जारी गर्दै वातावरणलाई प्रतिकुल असर पर्ने गरी राजमार्ग, खोला,खोल्सी तथा सार्वजनिक स्थानहरुमा जथाभावी फोहोर फाल्ने तथा जलाउने कार्य बन्द गर्न पनि आग्रह गरेका छन् ।

notice-environment-

साथै, सुचनामा वन वातावरण तथा विपद् व्यवस्थापन महाशाखा तथा नगर प्रहरीको टोलीले अनुगमन र निरीक्षण गरिरहेको पनि उल्लेख छ । जथाभावी फोहोर फालेमा, जलाउने जस्ता निषेधित कार्य गरेमा फोहोर मैला व्यवस्थापन ऐन २०६८ तथा वातावरण संरक्षण ऐन २०७६ वमोजिन कारबाही गर्ने पनि चेतावनी दिइएको छ । धरानमा बुधबार धरान ख्रिष्टिय समाजको आयोजना तथा धरान उपमहानगरपालिकाको सहयोगमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा वृहत सरसफाई अभियान भएको थियो ।

के छ ऐनमा व्यवस्था ?

वातावरण निरीक्षक राजु चौहानका अनुसार तोकिएको स्थानबाहेक अन्यत्र फोहोर फालेमा पहिलो पटक ५ सय जरिवाना गर्ने कानुनी प्रावधान छ । दोस्रो पटक भए ५ देखि १० हजार र तेस्रो पटक भए १५ हजार जरिवाना गर्ने कानुनी व्यवस्था छ । यस्तै, डस्टविनमा क्षति पुर्याउदा वा चोरी गरेर लैजादा, तोकिएको ठाउँभन्दा अन्यत्र सार्दा पनि १५ देखि ५० हजार जरिवाना गर्ने व्यवस्था रहेको चौहानले जानकारी दिए ।

IMG_9437.psd

यसैगरि, घरबाट नै कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने र त्यसो नगरे ५ सय जरिवना गराउने व्यवस्था छ । ‘यो मात्र लागु गर्न सकियो भने घरबाट नै कुहिने फोहोरबाट कम्पोष्ट मल उत्पादन गर्न सकिन्छ । यसले आय आर्जन पनि हुन्छ वा आफ्नै घरको बारीमा फाल्दा पनि हुन्छ,’चौहानले भने,‘नहुकिने फोहोरको मात्रा थोरै हुन्छ, र व्यवस्थापनमा सहज हुन्छ ।’

वातावरण अधिकृत भेषराज घिमिरेले भने धरानको फोहोर मैला व्यवस्थापनको लागि ऐन बनाउन छलफल भइरहेको बताए । जनता आफै सचेत र जिम्मेवार नभएसम्म ऐन बनाएर मात्र फोहोरमैलाको उचित व्यवस्थापन नहुने उनको भनाई छ । ‘हामी नियमन र दण्ड सजाय गर्ने जिम्मेवारी टोल विकास संस्थालाई नै दिने हो कि भन्ने मोडलमा पनि छलफल गर्दैछौं,’उनले भने ।