धरान: कोरोना भाइरस(कोभिड १९)सँगै स्वास्थ्य र सरसफाईप्रति सचेतना जगाउने उद्देश्यले आज धरानमा वृहत सरसफाई कार्यक्रम भइरहेको छ ।

धरान ख्रिष्टिय समाजको आयोजनामा तीनकुनेदेखि धरानको सिमाना पर्ने पानीपियासम्म वृहत सरसफाई कार्यक्रम भइरहेको हो । कार्यक्रममा धरान उपमहानगरपालिकको विशेष सहयोग रहेको छ भने विभिन्न सामाजिक संघसंस्थाहरुको सहभागिता पनि रहेको छ । विशेष गरी कोरोना भाइरसबारे जनचेतना फैलाउन तथा सरसफाईमा ध्यान दिन सन्देश दिनको लागि कार्यक्रम आयोजना गरीएको संयोजक एवं पास्टर स्यामुएल राईले बताए ।

sarsafai-program

सरसफाई कार्यक्रम बिहान ७ बजेदेखि शुरु भएको हो । सरसफाईमा धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, डिएसपी ढुण्डीराज न्यौपानेसमेत सहभागी छन् । कार्यक्रमको लागि ३ सय मास्क र ३ सय जोर पञ्जा उपमहानगरपालिकाले उपलब्ध गराएको आयोजकले जनाएको छ । एउटा ट्याक्टर फोहोर संकलनको लागि पनि दिएको छ भने अर्को ट्याक्टर होसन्न बपतिस चर्चले उपलब्ध गराएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानले गाडी र पानी प्रदान गरेको छ ।

sarsafai-dr-sameer

कार्यक्रमले धरानलाई सफा र स्वच्छ राख्ने साथै कोरोना, डेंगुजस्ता रोगहरुबाट पनि जोगाउन मद्दत पुग्ने धरानकी उपमेयर भण्डारीले बताइन् । कार्यक्रममा महिला संजाल धरान, धरान रन, सुनसरी बास्केटबल संघ, धरान बास्केटबल संघ, उद्यमशिल बचत तथा ऋण सहकारी संस्था, सेवक अभियान, नेपाल फोटो पत्रकार महासंघ, नेपाल स्वतन्त्र यातायात मजदुर संगठन धरान उपमहानगर कमिटि, जनपथ प्रहरी, सशस्त्र प्रहरीलगायत दर्जन बढी संघसंसस्थाको सहकार्य रहेको नेपाल ख्रीष्टियन समाजका केन्द्रीय सचिव कुबेर गुरूङले जानकारी दिए ।