धरान(डेस्क): कोरोना भाइरस(कोभिड १९) को संक्रमणबाट जोगिन उति उपयोगी हुने मास्क बजारमा चरम अभाव छ । यस्तै, सेनिटाइजर पनि पाइदैन ।

यही मौकामा व्यापारीहरुले भने कालोबजारी गरिरहेका छन् । आइतबार प्रदेश राजधानी विराटनगरमा अनुगमनको क्रममा हजारौं संख्यामा सर्जिकल मास्क लुकाइएको भेटिएको छ । विराटनगरको श्री सर्जि इम्पेक्समा ठुलो मात्रामा मास्क लुकाइएको अवस्थामा भेटिएको हो । यो इम्पेक्सको सञ्चालक राजेश अग्रवाल हुन् । महानगरपालिकाको नेतृत्वमा औषधी व्यवस्था विभाग र वाणिज्य विभागसहितको टोलीले इम्पेम्समा ११ हजार भन्दा बढी थान मास्क लुकाएको फेला पारेको औषधी व्यवस्था विभागका प्रमुख सञ्जिव कट्टेलले जानकारी दिए ।

mask-brt

उनका अनुसार इम्पेक्सका सञ्चालकले आफुसँग मात्र एक सय पिस मास्क भएको बताएका थिए । तर, अनुगमनको क्रममा ठुलो मात्रामा मास्क लुकाइएको भेटिएको थियो । ‘सय पिस मात्र मास्क छ भन्यो, तर भित्र हेर्दा साढे ११ हजार थान जति मास्क भेटियो,’कट्टेलले भने,‘सेनिटाइजर भनेअनुसार नै ४ कार्टुन भेटियो, तर त्यसमा लेबल र मुल्य थिएन । त्यो पनि गैरकानुनी भएकोले जफत गरिएको छ ।’ अनुगमन टोलीले बजार अनुगमन अझै जारी राखेको छ ।