धरान: सुनसरी उद्योग वाणिज्य संघले कोरोना भाइरस संक्रमण जोखिमको कारण आर्थिक गतिविधिमा सुस्तता आए एवं आयात निर्यातमा असहजता देखिएको भन्दै राहतको प्याकेज ल्याउन सरकारसँग माग गरेको छ ।

संघका अध्यक्ष गिरीधारी सापकोटाले प्रेस विज्ञप्ती जारी गर्दै वर्तमान अवस्थालाई ध्यानमा राखेर उद्योग व्यवसाय क्षेत्रको राहतको लागि सहयोगको कार्यक्रम ल्याउन नेपाल सरकार तथा सम्बन्धित निकायहरुसँग माग गरेका हुन् । संघले बैंक तथा बित्तिय संस्थाको ब्याजको आधार दर गणना गरी ऋण तथा ब्याज रकम भुक्तानीको लागि आगामी असार मसान्तसम्म समयावधि थप गर्न माग गरेको छ । यस्तै, चैत मसान्तसम्म तिर्नुपर्ने करको समयावधि ३ महिना थप गर्नुपर्ने तथा विद्युत महशुलको न्युनतम शुल्क मिहना गर्नुपर्नेलगायतको पुर्ण प्याकेजका सहयोगको कार्यक्रम ल्याउन माग गरेको हो ।

यसैगरि, संघले मास्क, सेनिटाइजरलगायत औषधी, खाद्यान्न, पेट्रोलियम पदार्थहरुको व्यवस्थापन, बिक्री वितरण र ढुवानी कार्य पारदर्शी, प्रभावकारीरुपमा गरेर आम उपभोक्तालाई सेवा दिन पनि आग्रह गरेको छ । संघले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका उपायहरु अवलम्बन गर्न सरकार तथा सरोकारवालाहरुसँग अनुरोध गर्दै सम्पुर्ण उद्योगी, व्यवसायी तथा उपभोक्ताहरुलाई सचेत, सजग र सुरक्षित रहन पनि आग्रह गरेको छ ।