धरान: लकडाउनको बेला प्रहरी प्रशासनसँग समन्वय नगरी ग्याँस बाँड्ने क्रमा धरान ९, कलेज रोडस्थित सुविधा ग्याँस डिलरमा भिड जम्मा भएर तनाव सृर्जना भएको छ ।

ग्याँस लिन उपभोक्ताहरुको घुँइचो लागेको थियो । थोरै संख्यामा मात्र ग्याँस आएको र नपाउने अवस्था सृर्जना भएपछि डिलर सञ्चालकसँग उपभोक्ताहरुको झगडासमेत भएको थियो । उपभोक्ताहरुले सञ्चालकका छोरालाई हातपातसमेत गरेको स्थानीय प्रत्यक्षदर्शीले क्लिक धरानलाई जानकारी दिए । ‘प्रहरीलाई जानकारी नगराई नै ग्याँस बाँडेको रहेछ, भिड धेरै थियो र छोरालाई त हातपात नै भयो,’एक प्रत्यक्षदर्शीले भने ।

प्रहरीका अनुसार सुविधा ग्याँस २५० सिलिण्डर मात्र आएको थियो । तर, ग्याँस लिन उपभोक्ताहरुको अत्यधिक भिड थियो । झडप हुने अवस्था भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । डिलर सञ्चालकलाई नियन्त्रणमा लिइएको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । हिजो धरान उपमहानगरपालिकाले उद्योग वाणिज्य संघ, प्रहरी सबैसँग बैठक बसेर औषधी पसलबाहेक सबै बन्द गर्ने निर्णय गरेको थियो । खाद्यान्नहरु आवश्यक परे प्रहरी र उपमहानगरपालिकाले डेलिभरी व्यवस्था गर्ने निर्णय गरेको थियो । 

पक्राउ पर्नेहरुको संख्या ८५ पुग्यो

लकडाउन उल्लंघन गरेपछि पक्राउ पर्नेहरुको संख्या बढेको बढ्यै छ । अहिलेसम्म ७४ जना पुरुष र ११ जना महिला प्रहरी नियन्त्रणमा छन् । इलाका प्रहरी कार्यालयका अनुसार २३ वटा मोटरसाइकल र १२ वटा स्कुटर नियन्त्रणमा लिइएको छ भने टेम्पो र सफारी ८ वटा एवं एउटा ट्रक पनि नियन्त्रणमा रहेको डिएसपी न्यौपानेले बताए । ‘सबैलाई कभर्ड हलमा राखिएको छ, बेलुका सम्झाएर पठाउछौं,’डिएसपी न्यौपानेले भने ।