धरान: फ्रान्सबाट कतार ट्रान्जिट हुदै नेपाल आएकी कोरोना संक्रमित युवतीसँग सुनसरीका पनि ४ जना सोही फ्लाइटमा आएको खुलेको छ । अहिले नेपाल प्रहरीले उनीहरुको खोजी गरिरहेको छ ।

ती ४ जना मध्ये अहिलेसम्म एक जना मात्र धरान ६ पानवारीका व्यक्तिको पहिचान भएको छ । अन्य ३ जनाको सुनसरी प्रहरीले खोजी गरिरहेको प्रहरी स्रोतले जनाएको छ । ती व्यक्तिहरुको ठेगानामा सुनसरी भन्ने मात्र भएकोले पहिचान गर्न सहज नभइरहेको उच्च प्रहरी अधिकारीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एवं एसपी यज्ञविनोद पोखरेलले संक्रमित भएकी युवतीसँगै फ्लाइटमा आउने एक जना धरान ६ पानवारीका व्यक्ति भेटिएको जानकारी दिए । ‘को को हुन् भनेर खोजी भइरहेको छ, एक जना धरान ६ का सम्पर्कमा आइसकेका छन् । उनलाइ वीपी हस्पिटल लगिएको छ,’एसपी पोखरेलले भने । कतारबाट आएका धरान ६ का व्यक्ति पुरुष छन् ।

हिजो धरान १६ स्वामी चोकका एक युवा पनि ती संक्रमित युवती आएकै फ्लाइटमा आएको आशंका गरिएको थियो । उनी भने संक्रमित युवती चढेकै जहाजमा आएको भन्ने पुष्टि अहिलेसम्म हुन सकेको छैन । उनलाई हिजो वीपी प्रतिष्ठान लगिएको थियो । तर, स्वास्थ्यकर्मीहरुले उनको आवश्यक कागजपत्र र जाँच गरेर घरमा नै क्वारेन्टाइनमा रहने गरी फर्काइदिएका छन् । उनी कतारबाटै आएपनि युवतीसँगै जहाजमा आएको भन्ने पुष्टि हुन सकेको छैन । वडा नं १६ कै अन्य २ जना पनि हिजो वीपी प्रतिष्ठान लगिएको छ । ती मध्ये एक जना कोरियाबाट आएका हुन् भने अर्को मलेसियाबाट आएका हुन् ।

 डराउनु पर्ने अवस्था छैन: स्वास्थ्य मन्त्रालय प्रवक्ता
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले संक्रमित युवतीसँगै आएका अन्य यात्रुहरुको खोजी भइरहेको भएपनि आत्तिनुपर्ने अवस्था नभएको बताए । उनले यो बेला सबैको सहयोग हुनुपर्ने पनि बताए । ‘को कहाँ कुन अवस्थामा छन् भनेर पहिचान गर्न खोजेका हौं, उपचार चाहिने भयो भने अस्पताल लैजाने हो,’प्रवक्ता देवकोटाले भने,‘होइन भने घरमै अलग्गै बस्ने वा सरकारले तोकेको क्वारेन्टाइनमा १४ दिनसम्म बसेर सहयोग गर्ने हो ।’

corona-khoji1
धरान १६ मा हिजो विदेशबाट आएका व्यक्ति लिन पुगेको स्वास्थ्यकर्मी र प्रहरी टोली ।