धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पनि चैत १८ गतेसम्म पुर्णरुपमा लकडाउनको घोषणा गरेको छ ।

यो अवधिमा सर्वसाधारणहरुलाई मात्र होइन, वीपीकै शिक्षक एवं कर्मचारीहरुसहित सबैलाई आवतजावतमा रोक लगाएको छ । प्रतिष्ठानको मुल ढोकासहित सम्पुर्ण प्रवेशद्धारहरु बन्द रहनेछ भने अति सिकिस्त, ज्वरो आएका विरामीहरुहरुलाई हेरी सम्बन्धित निकायसँग समन्वय गरेर मात्र सुरक्षाकर्मीले भित्र प्रवेश गर्न दिने कार्यवाहक उपकुलपति प्रा.डा.गुरुप्रसाद खनालले सुचना जारी गरेका छन् ।

प्रतिष्ठानले आवास र छात्रावास प्रयोग गरि बसेका शिक्षक, कर्मचारी र तिनमा आश्रित परिवारलगायत विद्यार्थीहरुलाई पनि अत्यावश्यक काममा बाहेक आफ्नो आवासबाहिर नजान निर्देशन गरेको छ । प्रतिष्ठान भित्रको खेलमैदान,सडक र अन्यत्र हिडडुल नगर्न र गरेको पाइएमा सुरक्षाकर्मीद्धारा कारबाही हुने पनि प्रतिष्ठानले चेतावनी दिएको छ । आवास तथा छात्रवासबाट बाहिर कसैलाई पनि निस्कन नदिइने सहप्रवक्ता एवं डा.अशोक ऐरले बताए । ‘डिउटीमा रहेको बाहेक कसैलाई पनि आफ्नो आवास वा कोठाबाट बाहिर निस्कन दिइनेछैन,’डा.ऐरले भने,‘कसको डिउटी कुन बेला छ, त्यसअनुसार पास दिएका छौं, त्यो समयबाहेक कोही पनि निस्कन पाउदैन ।’

प्रतिष्ठानका अत्यावश्यक सेवाबाहेकका सम्पुर्ण प्रशासनिक, स्कुल, कलेजका शिक्षकहरु तथा कर्मचारीहरु आवश्यकता अनुसार जुनसुकै समयमा पनि डिउटीमा अनिवार्य उपस्थित हुने गरी आआफ्नो आवासमा तयार अवस्थामा रहनेछन् । ‘बाहिर अस्पतालको काममा कोही जानुपरे पटके पास दिइनेछ,’सहप्रवक्ता डा.ऐरले भने ।

दुई इन्टर्न विद्यार्थी क्वारेन्टाइनमा

वीपी प्रतिष्ठानका दुई जना इन्टर्न विद्यार्थी क्वारेन्टाइनमा छन् । उनीहरु भारतबाट आएको हुनाले थ्रोट स्वाब लिएर क्वारेन्टाइनमा पठाइएको हो । दुवै विद्यार्थी आफ्नै क्वार्टरमा क्वारेन्टाइनमा रहेको प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा.विकास साहले जानकारी दिए । कार्यवाहक उपकुलपति प्रा.डा.गुरुप्रसाद खनालले मंगलबारको मितिभन्दा १४ दिनअघि कोही विदेशबाट भ्रमण गरी आएको भए अनिवार्यरुपमा सेल्फ क्वारेन्टाइनमा बस्न पनि निर्देशन दिएका छन् ।

bpkihs-notice