एजेन्सी: कोरोनाभाइरस सङ्क्रमणका पछिल्ला आँकडा अनुसार अब सबभन्दा धेरै सङ्क्रमितको संख्या अमेरिकामा पुगेको छ ।

जन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोभिड १९ सङ्क्रमितको संख्या ८२ हजार चार सय पुगेको छ । चीनमा कुल सङ्क्रमितको संख्या ८२ हजारभन्दा कम छ भने इटलीमा ८० हजार छ ।

परीक्षण धेरै गरिएको कारण हो?
ठूलो सङ्ख्यामा सङ्क्रमित पाइएको बारे सोधिएको प्रश्नमा राष्ट्रपति डोनल्ड ट्रम्पले यो धेरै परीक्षण गरेको कारण भएको बताए । राष्ट्रिय स्तरमा आवश्यक औषधोपचार सामग्री नभएको गुनासोलाई उनले अस्वीकार गरेका छन् । आफ्नो प्रशासनले आपतकालीन आपूर्तिबारे बिग्रिएको प्रणाली बिरासतमा पाएको उनले बताए ।

संसारमा पाँच लाख नाघ्यो

विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या पाँच लाख नाघेको छ । इटलीमा दुई दिनको तुलनामा फेरि मर्नेहरूको संख्या बढेको छ । त्यहाँ पछिल्लो एक दिनमा ७१२ जनाको ज्यान गएको छ ।

फ्रान्समा एक दिनमा ३६५ जनाको ज्यान गएको छ भने युकेमा पनि एकै दिनमा पहिलो पटक एक सयभन्दा धेरैको ज्यान गएको छ । बीसी सम्वाददाता स्टिभ ज्याकसन भन्छन्,'संसारभरि सङ्क्रमितको संख्या पाँच लाख पुग्नु गम्भीर कोशेढुङ्गा हो । तर विज्ञहरू भन्छन् वास्तविक संख्या अझै धेरै हुन सक्छ किनकी कैयन् देशमा औपचारिकरूपमा घोषणा गरिएका सङ्क्रमितको संख्याभन्दा वास्तविक संख्या निकै धेरै हुनसक्छ।' संसारका १८० भन्दा बढि देशमा यो रोग फैलिसकेको छ । करिब २३ हजार मानिसको ज्यान गइसकेको छ ।