एजेन्सी: ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाभाइरस सङ्क्रमण भएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ।

जोनसनले आफूलाई कोरोनाभाइरसका मध्यम खालका लक्षणहरू देखिएको र डाउनिङ्ग स्ट्रीटमै एक्लिएर बस्ने बताएका छन् । एउटा वक्तव्यमा भनिएको छः'इङ्ल्यान्डका प्रमुख मेडिकल अधिकृतको व्यक्तिगत सुझावका आधारमा उनको जाँच गरिएको थियो।' यद्यपि जोनसनले अझै यस महामारीसँग जुझिरहेको सरकार चलाइरहने उक्त वक्तव्यमा जनाइएको छ ।

जोनसनले समेत यसबारे एउटा भिडिओ ट्विट गर्दै 'एकसाथ भाइरसलाई परास्त गर्ने' बताएका छन्। उनको जाँच डाउनिङ्ग स्ट्रीटमै राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसका कर्मचारीहरूले गरेका थिए । दुई दिनअघि ब्रिटेनका राजकुमार चाल्र्सलाई कोरोनाभाइरस सङ्क्रमण भएको उनको औपचारिक निवास क्ल्यारन्स हाउसले जनाएको थियो । ब्रिटेनभरि ११ हजार ६ सय जनाभन्दा बढी कोरोनाभाइरसका घटना पुष्टि भएकामा हालसम्म ५७८ जनाले ज्यान गुमाएका छन् ।