धरान: प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस संक्रमणको रोकथाम तथा उपचारमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुको सुरक्षाको ग्यारेण्टी राज्यको भएको बताएका छन् ।

कोरोना भाइरस संक्रमणको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुले आवश्यक सुरक्षा सामग्री(पिपिई) नपाएर असुरक्षित भएको गुनासो गरिरहदा मुख्यमन्त्री राईले आइतबार धरानमा यस्तो बताएका हुन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना परीक्षण ल्याबको निरीक्षणको क्रममा आएका मुख्यमन्त्री राईले संक्षिप्त सम्बोधन गर्दै कोरोना रोकथाममा खटिएका स्वास्थ्यकर्मीहरुको पुर्ण सुरक्षाको ग्यारेण्टी राज्यको भएको धारणा राखेका हुन् ।

उनले संघीय सरकारले चीनबाट आवश्यक पर्ने सुरक्षाको सामग्रीहरु ल्याइसकेकोले अब प्रदे सरकारले प्रदेशमा ल्याउने बताए । ‘आजको मितिसम्म स्वास्थ्यकर्मीहरु असाध्यै असुरक्षितढंगबाट खटिइरहनु भएको छ, चिकित्सक र स्वास्थ्यकर्मीहरुको पुर्णसुरक्षाको ग्यारेण्टी राज्यले गर्नुपर्छ,’मुख्यमन्त्री राईले भने,‘ सरकारले चीनबाट सामग्री ल्याइसकेको छ, र हेलिकप्टरबाट सबै प्रदेशमा पुर्याउने प्रवन्ध मिलाइरहेको छ ।’

cm

 

संघीय सरकारबाट पाएका सामग्रीहरु चरणवद्धरुपमा आवश्यक ठाउँमा स्वास्थ्यकर्मीहरुलाई उपलब्ध गराउने पनि मुख्यमन्त्री राईको भनाई थियो । उनले वीपी प्रतिष्ठानमा एउटा भवन आइसोलेसन अस्पतालकोरुपमा तयार गर्न पनि निर्देशन दिएका छन् । ‘वीपीको कम्पाउडभित्र भएका भवनहरु मध्ये तत्कालको निम्ती एउटा भवन आईसोलेसन अस्पतालको रुपमा चलाउनुपर्ने स्थिती बन्न सक्छ । त्यस प्रकारको तयारीको आवश्यक कामहरुको थालनी गर्नुहोस्, प्रदेश सरकार साथमा छ,’उनले भने

वीपी र प्रदेश ल्याबबीच साझेदारी हुन्छ: मन्त्री घिमिरे

jiwan-ghimire 2

प्रदेश सरकारका सामाजिका विकास मन्त्री जीवन घिमिरेले वीपी प्रतिष्ठान र प्रदेश लयाबीच साझेदारी गरिने बताएका छन् । उनले ल्याबको कामलाई थप प्रभावकारी बनाउन सहकार्य गर्ने र सेवालाई थप विकेन्द्रीकरण गर्ने बताए । ‘यहाँको ल्याबलाई परीक्षण गर्ने थलो मात्र बनाउनुपर्छ, स्वाब कलेक्सन चाहि आआफ्नै ठाउँमा हुनुपर्छ भन्ने तर्फ हामी सजग छौं,’ मन्त्री घिमिरेले भने,‘प्रदेश सरकारको प्रदेश ल्याब प्रमुख पनि उपस्थित हुनुहुन्छ । अस्पतालका ल्याब टेक्निसियनहरुलाई विभिन्न चरणमा तालिम दिईरहेको छ । यसलाई थप प्रभावकारी बनाउन प्रतिष्ठान र प्रदेश ल्याबले साझेदारी गरेर म्यानपावर विकेन्द्रीकरण गर्नुपर्छ । हामी धेरै ठाउँमा पुग्न सक्यौ र स्वाब कलेक्सन गर्न सक्यौ भने चाडो र धेरै सेवा दिन सक्छौ ।’