आइएमएफको मन्दी संकेतः
इतिहासमा विश्व धेरैपटक युद्धको भुमरीमा जाकिएको छ । दुई पटक १९१४-१९१८ सम्म र १९३९-१९४५ सम्म महायुद्धमा र सयौं पटक क्षेत्रिय युद्ध¸ राष्ट्र-राष्ट्रका बीचको युद्ध र लामो समयसम्म महाशक्ति बन्ने होडबाजीमा हतियारको उत्पादन र भण्डारणले जन्माएको शीत युद्धमा । त्यसैले यो विश्वलाई¸ युद्धमा के के हुन्छ र युद्धले¸ संलग्न देश र सम्पूर्ण विश्वलाई नै कस्तो प्रभाव पार्छ भन्ने कुराको राम्रो अनुभव छ । सारा संसारले भोगेको विषय के हो भने जब जब विश्वको कुनै पनि भूभागमा युद्ध हुन्छ त्यहाँ जनधनको क्षति त हुन्छ नै त्यसका अतिरिक्त युद्धको समाप्ति पछि एउटा विशाल रिक्तता र गहिरो मन्दी सिर्जना हुन्छ । कतिपय मुलुकमा त युद्धको घाउ कैयौं वर्षसम्म पुरिन सकीरहेको हुदैन । कम्बोडिया र भियतनाम कति वर्ष पछि परे आपसमा लडेर ? रुवाण्डाको हालत अझै जातीय युद्धमा बनेका घाउहरु पुरिन नसकीरहेको हामी देख्न सक्छौं । प्यालेस्टाइन र इजरायल वा इरान र इराक होस् वा अफगानस्तान युद्धले थिलथिल्याएको अर्थतन्त्र¸ माथि उठ्न दशकौं लागीरहेको हाम्रो साक्षी छ ।

अहिले २०१९ डिसेम्बरदेखि सुरु भएको कोरोना भाइरस आतङ्कलाई पनि अन्तराष्ट्रिय मुद्रा कोषले युद्ध कै तयारीमा रहन संसारका सबै राष्ट्रलाई सचेत गराएको बाट प्रष्ट हुन्छ कि युद्ध हतियार बम गोला र बारुदले मात्र हुदैन । यो भाइरसले मचाएको वितण्डा¸ कुनैपनि युद्धभन्दा कम हानिकारक छैन । यसको औषधी पत्ता लाग्न बाँकी रहेकाले सर्वशक्तिमान कहलिएका राष्ट्रहरु पनि आफ्ना गोदाममा भण्डारण गरिएका टन का टन शक्तिशाली ब्यालेष्टिक मिसाइलहरु पुलुपुलु हेरेर निरीह बनीरहेका छन् । ज्यान जोगाउन लुकी लुकी भागीरहेका छन् । कति दिनसम्म यसको आतङ्क कायम रहने हो त्यो अझै अनुत्तरित छ । यसको सुरुवात भएको लगभग चौथो महिनासम्म आइपुग्दा (April 3, 2020 ) बिबिसीका अनुसार यसले विश्व अर्थतन्त्रको वृद्धिदर झण्डै १.५ प्रतिशत तल झारेको¸ अमेरिकामा मात्रै ६५ लाखको रोजगारी गएको¸ विश्व शेयर बजार ३० प्रतिशतले तल झरेको र चीनमा मात्रै औद्योगिक उत्पादनमा १३।५ प्रतिशत गिरावट आएको सुन र कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । (https://www.bbc.com/news/business-51706225)कोरोना अघि र कोरोना पछि भनेर संसारले अब आफ्नो अर्थतन्त्रलाई पुनर्मूल्याङ्कन गर्ने परिस्थिति सिर्जना भएको छ । अन्तराष्ट्रिय मुद्रा कोषले तम्तयार रहन दिएको सूचनाले¸ भोलिको विश्वले कस्तो¸ कत्रो र कुन दर्जाको मन्दी ब्यहोर्नुपर्ने होरु त्यो, समयले मात्र जवाफ दिन सक्छ ।

उद्योगधन्दा बन्द र ब्यापार बन्दः
कोरोना त्रासका कारण आज सम्पूर्ण विश्वका कल-कारखाना¸ उद्योग-धन्दा लगायत ब्यापार-व्यवसाय बन्द छन् । यसले विश्वका २०३ देश तथा क्षेत्रहरुमा प्रत्यक्ष प्रभाव पारेकाले सबै देशहरु कुनै न कुनै रुपले पूर्ण वा आंशिक बन्दको शिकार भएका छन् । उत्पादकत्व बढाउने¸ ब्यापार बढाउने¸ नाफा र पूँजीको प्रतिफल बढाउने उद्योग र कल कारखाना नै बन्द गर्नु परेपछि विश्व ब्यापारमा ठूलो गिरावट आएको हो । केही खाद्य सामग्री उत्पादन गर्ने उद्योग तथा औषधीजन्य पदार्थ उत्पादन गर्ने उद्योग मात्र सञ्चालन गरेर कुनै पनि अर्थतन्त्र उकालो जान सक्दैन । शेयर बजार ओह्राले लागेको छ । मजदुरहरु काम विहीन भएका छन् । कुल गार्हस्थ उत्पादन घटेको छ । यो मन्दीको चरम अवस्थामा अहिले राज्य निरीह भएर अनुत्पादक खर्चमा मात्र राजस्व खर्चगर्न वाध्य छ । विपन्न र अति विपन्नको हेरचाहमा राज्यको ठूलो धनराशी खर्चिनु भनेको भोलिका दिनको लागि समेत पूँजी निर्माण नहुनु र उत्पादकत्वमा नकारात्मक प्रभाव पर्नु हो ।

भन्सार तथा कर लगायत राजस्वमा गिरावटः
हाम्रो अर्थतन्त्रमा सबैभन्दा ठुलो योगदान भन्सार तथा कर राजस्वको छ । नेपालमा कर राजस्व र गैह्रकर राजस्वको अनुपात ५स्१ को हाराहारी हुनेगर्छ । कोरोनाका कारण यस वर्ष प्रक्षेपित आम्दानीमा तेस्रो चौमासिक (पौष-चैत्र) मा मात्र ५० देखि ६० प्रतिशतसम्म गिरावट आउने संभावना छ । यसले निश्चय नै देशको आर्थिक अवस्थामा नकारात्मक प्रभाव पारेको छ । हरेक वर्ष आन्तरिक र वाह्य ऋणबाट्ट न्यून बजेटमा रहेको बजेट घाटालाई परिपूर्ति गर्नुपर्ने वाध्यता रहेको हाम्रो देशमा आन्तरिक ऋणका लागि र अन्तराष्ट्रिय मुद्रा कोष लगायत विश्व बैंक जस्ता संस्थाहरुसंग सफ्ट लोनको अपेक्षार याचना बेलैमा गरिएन भने देश चरम आर्थिक संकटको भुमरीमा पर्न सक्छ ।

पर्यटन पर्बतारोहण प्रभावितः
नेपालको गैह्र कर राजस्वको ठूलो हिस्सा पर्यटन व्यवसायबाट हुने आम्दानीले ओघटेको छ । विश्व भाइरसको त्रासमा आक्रान्त भएका कारणले आउँदो वर्ष पर्यटन व्यवसायमा नकारात्मक प्रभाव पर्न सक्छ । देश विदेशबाट घुम्न आउने पर्यटकहरुमा ठूलो संख्यामा चीनिया पर्यटक नेपाल आउने गरेका छन् । एकातिर चीन आफैं पीडित छ भने अर्कातिर संक्रमणको त्रासले चीनिया पर्यटकको आवागमन त्यति सहज नहुने देखिन्छ । संसारका ठूला आम्दानी भएका राष्ट्रहरु सबैमा कोरोना व्यापक फैलिएका कारण ती राष्ट्रका पर्यटकहरु घट्ने पूर्ण संभावना छ । यसरी पर्यटन उद्योगले ठूलै घाटा आगामी आर्थिक वर्षसम्म पनि व्यहोर्नु पर्दा ती उद्योगहरुका लगानीकर्तालाई उल्टै राहतको प्याकेज सरकारले दिनुपर्ने देखिन्छ । ब्याज मिनाहा गर्ने¸ कर छुट गर्ने¸ भाडामा सब्सिडि दिने तथा सरकारी खर्चमा गरिने कृयाकलापमा उनीहरुलाई राहत हुने काम सरकारले गर्नुपर्ने हुँदा ती क्षेत्रबाट राजस्व संकलनको सट्टा उल्टो सरकारी कोषको प्रयोग गर्नुपर्ने टड्कारो आवश्यकता छ । एक वर्ष उनीहरुलाई बचाइयो भने अर्को वर्षदेखि फेरि उनीहरुले आम्दानी दिन सक्ने वातावरण बन्छ । यो सिद्धान्त अवलम्बन गर्नु पर्दछ ।

कृषि क्षेत्रको उत्पादकत्वमा ह्रासः
नेपाल कृषि प्रदान देश हो । यहाँका झण्डै ७० प्रतिशत मानिस कृषिमा निर्भर छन् । अनाज तथा नगदे बाली¸ पशुपालन¸ तरकारी खेती¸ फलफूल खेती माछापालन तथा मौरी पालन आदि जस्ता खेतीमा संलग्न नेपालीहरुलाई यस वर्षको कोरोनाले ठूलो क्षति पुर्‍याएको छ । एकातिर उत्पादनमा कमी आएको छ भने उत्पादित बस्तुले बजार नपाउँदाको अर्को पीडा किसानहरुले व्यहोरीरहेका छन् । कुनैबेला धानमा आत्म निर्भर हामी जनसंख्या बिष्फोट र खेतीयोग्य जमीनको व्यापक दुरुपयोगले गर्दा वर्षमा ९ महिना खानपुग्ने गरी उत्पादन गर्न नसक्ने स्थितिमा हामी पुगेका छौं । त्यसमाथि बीऊको अभाव¸ मलको संकट र महामारीको त्रासले समयमा बाली लाउन नपाउने अवस्था आउनु र लगाएको बाली पनि उचित गोडमेलको अभावमा राम्रो सप्रिन नसक्नुले देशको कृषि क्षेत्रको उत्पादकत्व घट्न गई खाद्य संकटको अवस्था सिर्जना हुने देखिन्छ ।

वैदेशिक रोजगारीमा भारी गिरावट र वेरोजगारी समस्याः
कोरोना संक्रमणका कारण संसारभर उद्योग कल कारखाना बन्द हुनु ठूला आयोजना रोकिनु ब्यापार सुस्त हुनु आदि कारणले विश्व मै रोजगारीका अवसरहरु घटेका छन् । रोजगारी पाएकाहरुको पनि तलबमान कटौति भएको छ । यस परिस्थितिले नेपाल जस्तो देश जसका झण्डै ५० लाख युवाहरु वैदेशिक रोजगारीमा छन्¸ लाई ठूलो चुनौति सिर्जना गरेको छ । विदेश बसेर कमाउन गएका तमाम नेपालीहरु मध्ये ४० प्रतिशतको मात्र पनि रोजगारी गुम्यो भने २० लाख बेरोजगार युवाहरु नेपाल फर्किने छन् । त्यसरी स्वदेश फर्किएका श्रमशक्तिलाई वैकल्पिक कामको योजना नबनाउने हो भने बेरोजगारी आफैंमा एउटा विकराल भार हुनेछ राष्ट्रका लागि । र¸ वेरोजगारीबाट उत्पन्न हुन सक्ने सामाजिक उथलपुथल¸ अपराध¸ हिंसा र उपभोगको असंतुलनको ठूलै चपेटा नेपाललाई आइपर्न सक्छ ।

जनसंख्या वृद्धिको संभावनाः
कोरोना त्रासका कारण लक डाउन र लक डाउनका कारण जनसंख्या वृद्धि¸ यो एउटा सरल चक्र नेपाल जस्तो अल्प विकसित एवम् जनताको ठूलो हिस्सा अशिक्षित रहेको मुलुकका लागि सामान्य घटना हो । अमेरिका सन १९६०-६१ मा बिजुलीको लोड सेडिङमा थियो । त्यहाँ त्यसबेला जनसंख्या वृद्धिदर अत्यधिक रहेको तथ्याङ्कले देखाउँछन् । हामी पनि आजैदेखि आम नागरिकमा त्यो सचेतना फैलाउन ढिलो गर्ने हो भने जनसंख्या विष्फोटको अर्को विकराल अवस्था हाम्रो देशमा नआउला भन्न सकिन्न ।

ठूला आयोजना प्रभावित र पूँजीगत खर्चमा ह्रासः
लक डाउनका कारण देशमा सञ्चलन भइरहेका राष्ट्रिय महत्वका तथा ठूला आयोजनाहरु अवरुद्ध छन् । विकास निर्माणका काम अवरुद्ध छन् । राज्यले गर्ने साधारण खर्चमा भारी वृद्धि हुनुका साथै पूँजीगत खर्चमा भारी रोकावट आएको छ । साधारण खर्च जीवन यापनका तत्कालका समस्या समाधानका लागि हुन्छन र ती खर्चले नगन्य मात्रामा बाहेक दीर्घकालमा रोजगारीको सिर्जना पनि गर्दैनन्¸ पूँजी निर्माण पनि हुदैनन् र आर्थिक वृद्धिदरमा सहयोग पनि गर्दैनन् । एक किसिमले यस्ता खर्च बढी अनुत्पादक नै हुन्छन् ( रोजगारी प्राप्तकर्ताले गरेको बचत अनि शिक्षा र स्वास्थ्यमा खर्च गरेको रकम बाहेक । कोरोना प्रकरणले सिर्जना गरेको त्रास र लक डाउनबाट विकास निर्माणमा मुलुक पछि परेको छ । संगै स्वतन्त्रता प्राप्त गरेका विश्वका धेरै मुलुक भन्दा कछुवा गतिमा हिडीरहेका हामी नेपालीको विकासे अभियानमा नेता/ब्युरोक्रेट/ब्यापारीको सर्किटका कारण यसै देश अस्वस्थ थियो । कोरोनाले हाम्रो त्यो गतिमा समेत अझै नकारात्मक प्रभाव पारेर हामीलाई विकासका दृष्टिले २० वर्ष पछाडि धकेल्ने संकेत देखिएको छ ।

समाधान के के हुन सक्लान त ?
जुनसुकै बादलमा चाँदीको घेरा हुन्छ भने झैं हरेक समस्याले केही न केही सकारात्मक समाधान बोकेर आएको हुन्छ । कोरोनाको त्रास र महामारीले पनि हामीमा पारिवारिक मेलमिलाप तथा सामाजिक सद्भाव¸ जो आधुनिक नेपाली समाजमा मर्न लागिरहेको थियो¸ लाई पुनः जागृत गरिदिएको छ । असहायहरुलाई¸ बालबालिका हरुलाई माया गर्नु पर्दो रहेछ बृद्ध-बृद्धाहरु प्रति आदर र सहानुभूति राख्नुपर्ने रहेछ भन्ने हामी नेपालीको मौलिक विशेषता एकपटक फेरि पनि उद्वेलित भएर आएको छ कोरोना कै कारण । तर राष्ट्रमा पर्न गएको आर्थिक क्षतिलाई कसरी पूरा गर्न सकिन्छ भनेर एक जिम्मेवार नागरिकले सोच्नु पर्ने बेला पनि आएको छ । भोलिका दिनमा हामीले १९५०-५३ को कोरियाली युद्ध पछि औपचारिक रुपमा रुसले समर्थन गरेको उत्तर कोरिया र अमेरिकाले समर्थन गरेको दक्षिण कोरिया स्थापित भएर ३८ प्यारेलल लाईनमा विभाजित भएपछि १६ - १६ घण्टा काम गरेर जसरी दुवै कोरिया पुनर्निर्माण गरेका थिए वा हिरोसिमा र नागासाकीमा बम बिष्फोट भएपछिको जापान निर्माणमा जसरी जापानीहरु २० घण्टासम्म काममा खट्थे त्यसरी नै नेपालीले नेपालको पुनर्निर्माणमा काम गर्नुपर्ने हुन्छ । त्यसका लागि आजका कामचोरहरु¸ भ्रष्टहरु र दलालहरु पक्कै पनि कामलाग्ने छैनन् ।

भोलिका केही उपायहरु संक्षेपमा यसरी टिपोट गर्न सकिएलाः
१) कामका लागि खाद्यान्न कार्यक्रमः हामीसंग देशभित्र भएको श्रम र विदेशबाट रोजगारी गुमाएर नेपाल फर्किएको श्रमको सदुपयोग उच्चदरमा गर्न सकिन्छ कामका लागि खाद्यान्न कार्यक्रम भित्र ।
२) राष्ट्रिय विकास सेवा पुनः प्रारम्भः सहरमा काम गरिरहेका प्राविधिक तथा शिक्षित श्रमलाई गाऊँ बनाउन पठाउनु पर्छ । र¸ राष्ट्रिय विकास सेवा त्यो पनि कम पारिश्रमिकमा सञ्चालन गर्नुपर्छ ।
३) दैनिक कामघण्टामा वृद्धिः हाल प्रचलनमा रहेको ८ घण्टे श्रम समयलाई बढाएर १० घण्टे वा बढी बनाइयो भने एक श्रमिकबाट २५ प्रतिशत देखि बढी काम गराउन सकिन्छ ।
४) निर्वाहमुखी पारिश्रमिकका पदहरुको सिर्जनाः विकास आयोजनाहरुमा हाल आयोजना भत्ता दिने गरिएको छ । त्यसको सट्टा हामीसंग रहेको जगेडा श्रम बैंकबाट निर्वाहमुखी पारिश्रमिकमा विकासे काम गराउन दरबन्दी सिर्जना गरी काम लगाउन सकिन्छ । त्यसले आयोजना सस्तो हुनुका साथै प्रतिफल दर उच्च बनाउन मद्दत गर्छ ।
५) मौलिक उत्पादनमा प्रोत्साहनः नेपालको वातावरणमा पाइने तर संसारका लागि दुर्लभ हुने तमाम वनस्पति एवम जडिबुटीको उत्पादनमा प्रोत्साहन दिने र निर्यात प्रबर्द्धनमा जोड दिई वैदेशिक मुद्रा आर्जनको रणनीति लागु गर्नुपर्छ ।
६) रैथाने प्रजातिका कृषिजन्य उपजको जगेर्ना र एग्रो टुरिज्मः नेपालका रैथाने प्रजातिका अन्न बाली फलफूल तथा रुख विरुवाको खेतीबाट आय आर्जन गर्नुका साथै एग्रो तथा इको टुरिज्ममा जोड दिनुपर्छ ।
७) स्वरोजगार कार्यक्रममा प्रोत्साहनः बेरोजगारी समस्या समाधानका लागि योग्यता अनुसारको शीप विकास गराएर स्वरोजगार कार्यक्रम अघिसार्नु पर्छ । जसका लागि सुरु पूँजी सरकारले शून्यब्याजमा उपलब्ध गराउनु पर्छ । त्यो कार्यक्रममा सामेल भएका सबैको उत्पादन सरकारले नै खरीद गर्नु पर्छ । एक ग्राम एक उद्योगको अवधारणामा त्यसता कार्य गरियो भने फरक फरक समूहलाई फरक फरक पार्टपुर्जा बनाउन लगाएर एसेम्बल उद्योग चलाउन सकिनेछ । यसरी देश बिस्तारै ‌ओद्योगीकरण तर्फ अघि बढ्दा रोजगारीको अवस्था पनि पूर्ण रोजगारी तिर बढ्न जान्छ ।

समृद्ध नेपाल बनाउने एउटा सुनौलो अवसर बन्न सक्छ कोरोना त्रास र महामारीको यो अवस्था नेपालका लागि । तर अहिलेको चुनौति लक डाउनबाट आफू बच्ने र समाजलाई बचाउने हो । नेपाल बनाउने अभिभारा हामी नेपाली कै हो तर एउटा त्रिकोणात्मक सर्किट जो नेपालको उन्नतिमा धमिरा झैं निरन्तर टाँसिएको छ त्यसलाई तोड्न जरुरी छ ।     अस्तु ।

email:[email protected]