धरान: प्रकृतिपूजक किरात समुदायले आज उँधौली पर्व मनाउदैछन् ।
किराँत समुदायका राईहरुले राईले उँधौली साकेला, लिम्बूहरूले चासोक तङ्नाम, याक्खाहरुले चासुवा र सुनुवारहरुले फोलस्यादर पर्वकोरुपमा उँधौली मनाउछन् । मंसिरे पुर्णेकोरुमा पनि आजको दिनलाई मनाइन्छ ।
उधौलीको अवसरमा धरानमा किरात याक्थुङ चुम्लुङले ५ दिने चासोक चासोक तङ्नाम साँस्कृतिक उत्सव पनि आयोजना गर्दैछ । चार किरात भनिएका राई, लिम्बू, याक्खा र सुनुवार जातिले यो पर्वलाई अलग अलग नाम दिएर मनाउने गरेपनि समग्रमा उँधौली पर्वकोरुपमा चिनिन्छ । यो पर्वलाई खस आर्यले धान्य पूर्णिमा, नेवार समुदायले यः मरि पुन्हि अर्थात् योमरी पूर्णिमाकोरुपमा पनि मनाउछन् ।
किरातीहरुले आफूले लगाएको अन्नबाली पाकेपछि भित्र्याउनुअघि पितृ एवं प्रकृतिलाई चढाउने पर्व उधौली हो । खेती लगाउनुअघि अन्नबाली सप्रियोस् भनेर कामना गर्दै बैशाखे पुर्णिमाको दिन उभौली पर्व मनाइन्छ ।
चासोक तङनाम उत्सवको पहिलो दिन आज धरानमा चुम्लुङले बिहान चासोक पूजा, हाङ्युक्ना सरसफाई तथा शिरिजंगा सालिकमा माल्र्यापण कार्यक्रम गर्ने जानकारी दिएको छ भने भानुचोकबाट र्याली पनि निकालिनेछ । साथै, आजै बेलुकी तङ्सिङ अनुष्ठान पनि गरिने जनाएको छ । चासोक तङ्नाम उत्सवको औपचारिक उद्घाटन भने भोली शुक्रबार हुनेछ ।







