धरान: कोरोना(कोभिड-१९)को उपचार, रोकथाममा खटिदा मृत्यु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कर्मचारीका परिवारलाई प्रदेश एक सरकारले ५० लाख क्षतिपूर्ति दिने भएको छ ।

आज सम्पन्न भएको प्रदेश मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतबहादुर कार्कीले यो महामारीमा प्रदेशभित्र खटिएका कामको सिलसिलामा कसैको संक्रमणबाट मृत्यु भएमा निजको परिवारलाई ५० लाख क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको बताए । ‘कोरोना कोभिड १९ को उपचार, प्रतिरक्षामा लाग्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, निजामति कर्मचारी र स्थानीय तहका कसैको संक्रमणबाट मृत्यु हुन गएमा सरकारले तिनका परिवारलाई ५० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ,’मन्त्री कार्कीले भने ।

यस्तै, सोही बैठकले स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई दिने भनिएको प्रोत्साहन भत्तामा एकरुपता ल्याउन संघीय सरकारसँग समन्वय गर्ने जिम्मा प्रदेशका प्रमुख सचिवलाई जिम्मा दिइएको मन्त्री कार्कीले बताए । उनका अनुसार यो महामारीमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई संघीय सरकारले पनि अतिरिक्त प्रोत्साहन भत्ता दिने निर्णय गरेकोले एकरुपता ल्याउनको लागि प्रदेशले के कति दिने भनेर मिलाउनको लागि प्रमुख सचिवलाई जिम्मा दिइएको छ । यस्तै, बैठकले आगामी बर्ष २०७७ सालको लागि सार्वजनिक विदा पनि तय गरेको मन्त्री कार्कीले जानकारी दिए । ‘बैठकले २०७७ सालको सार्वजनिक विदा तय गरेको छ,’उनले भने ।

बैठकले यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव संयोजक भएको समितिले दिएको सार्वजनिक विदासम्बन्धी प्रतिवेदन संशोधन सहित स्वीकृत गरेको छ । केन्द्रबाहेक प्रदेशले ६ दिनको विदा थपेर क्यालेण्डर स्वीकृत गरेको हो । मन्त्री कार्कीका अनुसार तराईमा मात्र विदा दिइने छठ पर्व प्रदेश एकमा पुरै विदा दिइनेछ भने कृष्ण जन्मअष्टमीमा रथ यात्राको दिन झापा, मोरंग, सुनसरी र उदयपुरलाई विदा दिइनेछ । यस्तै, सिरुवा पर्वमा पनि झापा, मोरंग, सुनसरी र उदयपुर जिल्लामा विदा दिइनेछ भने माघे संक्रान्ति, फल्गुनन्द जयन्ती र द्वादशी विदा पनि प्रदेशमा दिइनेछ ।