वासिङ्टन: विश्वभर कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेहरुको संख्या एक लाख बढी पुगेको छ ।

जोन होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरले दिएको जानकारी अनुसार आज शनिबार बिहानसम्म कोरोनाको संक्रमणबाट विश्वभरि मृत्यु हुनेहरुको संख्या एक लाख दुई हजार ६ सय ७ पुगेको छ । यसैगरि, संक्रमित हुनेहरुको संख्या १६ लाख ९४ हजारभन्दा बढी पुगेको छ । संक्रमित भएकाहरुमध्ये करिब ३ लाख ७६ हजार निको भएका छन् ।

कोरोनाको संक्रमणबाट अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या १८ हजार नाघेको छ । आज बिहानसम्म अमेरिकामा मृत्यु हुनेको संख्या १८ हजार ६ सय ३७ जना पुगेको छ । संक्रमितको संख्या ५ लाख हाराहारीमा छ भने निको हुनेहरुको संख्या २८ हजार ७ सय ९० पुगेको छ । अमेरिकामा हिजो शुक्रबार मात्रै १३ सयभन्दा बढीको मृत्यु भएको थियो भने २० हजारभन्दा बढीमा संक्रमण देखिएको थियो ।

आज बिहानसम्म इटालीमा पनि कोरोना भाइरसको संक्रमणबाट १८ हजार ८ सय ४९ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या करिब एक लाख ४७ हजार पुगेको छ । युरोपकै मुलुकहरु स्पेनमा १६ हजार ८, फ्रान्समा १३ हजार २ सय १५, बेलायतमा ८ हजार ९ सय ७४ जनाको मृत्यु भएको छ । यता, कोरोना भाइरस सबैभन्दा पहिला देखा परेको चीनमा भने ३ हजार ३ सय ४० जनाको मृत्यु भएको छ । चीनभन्दा बढी इरानमा ४ हजार २ सय ३२ जनाको मृत्यु भएको छ ।