काठमाडौं: चीनको पक्ष लिएको र कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा सन्तोषजनक काम नभएको भन्दै अमेरिकाले विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)लाई दिदै आएको आर्थिक सहायता रोकेको छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन समेत दिइसकेका छन् । उनले कोरोना भाइरस संक्रमण फैलनबाट रोक्न डब्ल्युएचओले प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको र चीनको पक्ष लिएकोले आर्थिक सहयोग कटौती गरेको बताए । ‘आफ्नो न्यूनतम दायित्व पूरा गर्न डब्ल्यूएचओ विफल भएको छ र उसलाई जवाफदेही बनाउनैपर्छ,’ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘कोरोनाभाइरसको सङ्क्रमण फैलने विषयलाई एकदमै नराम्रो ढङ्गले व्यपस्थापन गरेको र त्यसलाई ढाकछोप गरेको विषयमा समीक्षा भइरहँदा आर्थिक सहयोग रोक्न म आफ्नो प्रशासनलाई निर्देशन दिँदैछु।’

चीनमा कोरोनाभाइरस देखिएपछि डब्लूएचओले सही ढङ्गले व्यवस्था गर्न नसकेको र घटनालाई ढाकछोप गरेको ट्रम्पको आरोप थियो । ट्रम्पले चीनको वुहान शहरबाट कोरोना भाइरसको संक्रमणको सुरुवात हुँदा डब्लुएचओले प्रकोपको पर्याप्त आँकलन गर्न नसकेको आरोप लगाए । उनले भने, ‘डब्लुएचओले चिकित्सा विशेषज्ञहरुलाई चीनमा पठाएर धरातलीय यथार्थ मूल्यांकन गरी वास्तविक अवस्था सार्वजनिक गरेको भए धेरै जनाको ज्यान जोगिन सक्थ्यो र आर्थिक क्षतिबाट पनि विश्वलाई जोगाउन सकिन्थ्यो । यसको सट्टा डब्लुएचओले चीन सरकारले गरेको कामको बचाउ गर्यो ।’

डब्ल्यूएचओलाई सबैभन्दा धेरै आर्थिक सहयोग गर्ने मुलुक अमेरिका हो । गत वर्ष ४ मिलियन डलर अमेरिकाले सहयोग गरेको थियो । यो रकम डब्ल्यूएचओको कुल बजेटको १५ प्रतिशत रहेको बीबीसीले जनाएको छ । अमेरिका कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो । अमेरिकामा ५ लाख ९२ हजार ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ भने २५ हजार २ सय ३९ जनाको मृत्यु भइसकेको छ । यसअघि पनि अमेरिकाले डब्लुएचओको भूमिका सन्तोषजनक नभएको भनेर आलोचना गरेको थियो । त्यसलगत्तै डब्लुएचओले कोरोना भाइरसको महामारीलाई कसैले पनि राजनीतिकरण गर्न नहुने प्रतिक्रिया दिएको थियो ।