काठमाण्डौंः विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोरोना भाइरस(कोभिड–१९) लाई विश्वव्यापी महामारी घोषणा गरेको छ ।

कोभिड–१९ को संक्रमण विश्वका १२० भन्दा बढी देशमा फैलिएपछि डब्लूएचओले पहिलो पटक विश्वव्यापी महामारी घोषणा गरेको हो । पछिल्लो दुई हप्तामा चीनबाहिर कोभिड–१९ को संक्रमण १३ गुणा बढेको र ४ हजारभन्दा बढीको ज्यान गएको उल्लेख गर्दै डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले यसलाई महामारीको संज्ञा दिएको बताए । उनले आउँदा दिन र हप्ताहरुमा अझ बढी संक्रमण, मृत्यु र थप देशहरुमा फैलने आकलन गरेको पनि उनले बताए ।

महामारीलाई त्रासकोरुपमा नलिन आग्रह

महानिर्देशक गेहब्रेयससले ‘महामारी’ शब्दलाई हल्का र लापर्वाहीपूर्वक नलिन पनि आग्रह गरे । ‘महामारी शब्दलाई हल्का र लापर्वाहीपूर्वक लिन हुँदैन । यदि यसको गलत प्रयोग भयो भने यसले अनावश्यक त्रास फैलाउँछ । साथै कोभिड–१९ विरुद्धको लडाइँ अब सकियो भन्ने बुझिन्छ र अझ यसले थप मृत्यु निम्त्याउन सक्छ,’ उनले भने ।

यसअघि पनि महामारीका रुपमा फैलिएका रोग एकै पटक नियन्त्रण गर्न नसकिएको उदाहरण दिँदै महानिर्देशक गेहब्रेयससले सबै देशले तत्काल कडा कदम चाल्नुपर्ने बताए । यदि कोभिड–१९ को परीक्षण, उपचार, आइसोलेसनमा राख्ने र संक्रमण देखिएमा तत्काल स्वास्थ्य कर्मचारीहरुलाई परिचालन गर्न सके यसलाई रोक्न सकिने पनि उनले बताए । केही देश कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सफल रहेको पनि महानिर्देशकले बताए ।

महानिर्देशक गेहब्रेयससलको चार सुझाव

महानिर्देशक गेहब्रेयससलले कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चार वटा कुरामा विशेष ध्यान दिनुपर्ने पनि बताए । उनका चार सुझाव यस्ता छन्–
तयारी गर्नुहोस्, तयार रहनुहोस्
पत्ता लगाउनुहोस्, सुरक्षित रहनुहोस् र उपचार गर्नुहोस्
संक्रमण फैलिन नदिनुहोस्
नवीन खोज गर्नुहोस् र सिक्‍नुहोस्

त्यस्तै महानिर्देशक गेहब्रेयससले कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि तयारी, जनस्वास्थ्य, राजनीतिक नेतृत्व र आम सर्वसाधारण एकजुट भएर लाग्न पनि आग्रह गरे । डब्लूएचओले यसअघि नै विश्‍वव्यापी स्वास्थ्य संकटकालको घोषणा गरिसकेको छ ।

ब्रिटेनबाहेक युरोपेली मुलुकको अमेरिका उडान बन्द

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरस कोभिड-नाइन्टीनको सङ्क्रमण रोक्ने प्रयासस्वरूप युरोपेली देशबाट आफ्नो देशमा गरिने सबै हवाई उडानमा ३० दिनका निम्ति रोक लगाएका छन्।

टेलिभिजन सम्बोधनमार्फत उनले घोषणा गरेको नियम ब्रिटेनको हकमा भने लागु हुने छैन। उता, इटलीमा कोरोनाभाइरसको प्रकोप नियन्त्रण गर्न किराना र औषधीबाहेक सबै पसलहरू बन्द गर्ने घोषणा गरिएको छ। युरोपको सबैभन्दा कडा प्रतिबन्धहरू घोषणा गरिएको उक्त देशमा सङ्क्रमितहरू र मृतकको सङ्ख्या निरन्तर बढ्दै गएपछि त्यस्तो निर्णय लिइएको हो।