धरान: प्रदेश एक सरकारले प्रदेशसभाको लागि विनियोजन गरेको अत्यावश्यक बाहेकको बजेट सरकारको कोषमा फिर्ता गर्ने भएको छ ।

प्रदेशसभा सचिवालयले ९ करोड ८९ लाख १७ हजार १ सय ८९ रुपैया सरकारलाई फिर्ता गर्ने निर्णय गरेको हो । सचिवालयको यो निर्णयलाई सभामुख प्रदीपकुमार भण्डारीले स्वीकृति प्रदान गरिसकेका छन् । प्रदेशसभाका सचिव गोपाल पराजुलीका अनुसार यो प्रक्रियालाई ‘बजेट समर्पण गर्ने’ भनिन्छ । आइतबारसम्म सरकारको जगेडा कोषमा बजेट फिर्ता भइसक्ने सचिव पराजुलीले जानकारी दिए । ‘यसलाई बजेट समर्पण गर्ने भन्छ । हामीले तयारी गर्दैछौं, आइतबारसम्म फिर्ता भइसक्छ,’उनले भने ।

प्रदेशसभा सचिवालयले अत्यावश्यक बाहेकको विभिन्न शिर्षकको बजेट सरकारलाई नै फिर्ता गर्ने निर्णय गरेको हो । यो बजेट सरकारको जगेडा कोषमा जान्छ । कोरोना संक्रमणको कारण कार्यक्रमहरु नहुने र संक्रमण रोकथाम, नियन्त्रण गर्न सरकारलाई बजेट आवश्यक पनि भएकोले यस्तो निर्णय गरिएको सचिव पराजुलीले जानकारी दिए । उनका अनुसार चालु आर्थिक बर्षमा करिब ३३ करोड बजेट प्रदेशसभाको लागि विनियोजन गरिएको थियो ।