धनकुटा: भारतसहित तेस्रो मुलुक तरकारी निर्यात गर्ने धनकुटाका किसानलाई लकडाउनको कारण करोडौंको नोक्सानी भएको छ ।

तरकारी बारीमै कुहिएको छ भने अर्को सिजन तरकारी लगाउने बेला आइसक्दा समेत किसानहरु के गर्ने भन्ने अन्यौलमा छन् । तरकारीको पकेट क्षेत्रको रुपमा रहेको धनकुटाको छथर गाउँपालिकामा ठुलो क्षेत्रफलमा तरकारी लगाइएको छ । देश पुुर्ण रुपमा लकडाउनमा गएपनि बजारसम्म पुुर्याउन नपाएको कृषि फसलको नोक्सानीले किसान चिन्तित छन् । ‘हामी त के गरौं न कसो गरौँ भएको छ,’छथर ६ का किसान गणेश शाक्यले भने,‘सिँगो खेतमा तरकारी छ, बेच्न नपाउँदा एक पैसो आउन पाएन ।’

उनले बारीमा किवि, मटरकोसा र अन्य सिजनल तरकारी लगाएका छन् । अघिल्लो साल झण्डै १७ लाख आम्दानी गरेका शाक्य यो साल तरकारी नबिक्दा अताल्लिएका छन् । त्यस्तै समस्यमा छन् सिधुवाका किसान डिक बहादुर खड्का । तयारी मटर कोसा बेच्न नपाउँदा खड्काले आफुु चरम निराशामा फसेको बताए । बैँकसँग ऋण काडेर व्यवसायीक खेती गरिरहेका खड्कालाई कसरी परिवार चलाउने धौधौ परिरहेको छ ।

krisi1

बेच्न ठिक्क पारेको तरकारी उपभोक्तासम्म पुुर्याउन नपाएपछि यहि पेशालाई मुुख्य आम्दानीको स्रोत बनाएका किसानको आर्थिक क्षति भएको त छ नै, अब खाद्यान्न संकट समेत निम्तिने जोखिम छ । ‘तरकारी बेचेर अन्नको जोहो गर्ने किसान के खाने भन्ने अवस्थामा पुगिसकेका छौ,’अर्का किसान मेघराज खड्काले भने,‘अब राहत त किसानलाई नै पो चाहिने भयो ।’

व्यवसायिक ढंगले खेती किसानी गरेका यहाँका सर्वसाधारणको मुुख्य आम्दानी नै पशुुपालन र तरकारी हो । बजार पठाउन तयार पारिएका हरियो मटर कोसा, काउली, रायाको साग लगाएतका तरकारीले सहज बजार पाएनन् । यो सिजनमा यस क्षेत्रका किसानले तयार पारेका एक चौथाई तरकारीले मात्र बजार पाएको सिधुवा कृषि भण्डारका प्रबन्धक मेघेन्द्र गुरुङले बताए ।

छथर जोरपाटी गाउँपालिकाको सिधुँवा बजारमा, छिमेकी पालिका र तेह्रथुमजिल्ला देखिका तरकारी संकलन हुन्छ । कृषि संकलन केन्द्रको रुपमा विकास भएको यस ठाउँको मुख्य विदेशबजार भारत हो भने भुुटान र बंगलादेशसमा समेत तरकारी जाने गरेको छ । यहाँ ५८ सय रोपनीमा तरकारी लगाइएको छ भने गत साल ३० करोडको तरकारी निकासी भएको थियो ।