विराटनगर: विराटनगरको रानी भन्सार नाकामा भारतबाट खाली आएको एक ट्रकमा एक करोड भन्दा बढी भारतीय रुपैया भेटिए पछि दुई जना पक्राउ परेका छन् ।
भारतको सुपौलबाट आएको खाली ट्रकलाई चेकजाँच गर्ने क्रममा एक करोड ९ लाख ७९ हजार ५ सय ३० हजार भारतीय रुपैयाँ बरामद भएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त चेकजाँच टोलीले मोरङको रानीबाट उक्त रकम फेला पारेको हो । भारतको सुपौलबाट आएको डब्लूबी ७३ ई ७६७५ नम्बरको खाली ट्रक खानतलासी गर्दा कानुर्टभित्र उक्त रकम भेटिएको हो । बरामद रकममध्ये ५ सय दरका २१ हजार ९ सय ५५ थान नोट रहेको छ । प्रहरीले ट्रकका चालक र सह-चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
अत्यावश्यक वस्तुको ढुवानी गर्ने नाममा उक्त ट्रक भारतबाट नेपाल भित्रिएको बताइएको छ । बरामद रकम कसले भित्र्याएको हो भन्ने बारे अनुसन्धान शुरु भएको प्रहरीले नजाएको छ । खाली गाडी भएका कारण भारतीय पक्षले परीक्षण नगरी नेपाल प्रवेशको अनुमति दिएको थियो । नेपालमा भने जाँच गर्दा बोराभित्र राखेको कार्टुनमा रकम बरामद भएको प्रहरीले जनाएको छ ।







