धरान: उदयपुरको वेलका नगरपालिका ५ की प्रतिभाशाली एवं उदयीमान महिला खेलाडी समिक्षा मगरको एउटा आँखा चोट लागेर गुमाएकी छिन् ।

उनको दाहिने आँखाको दृष्टि मात्र गुमेको छैन, इन्फेक्सनले गर्दा कृत्रिम आँखा नै लगाउनुपर्ने अवस्था आएको छ । तर, चिकित्सकहरुले कृत्रिम आँखा लगाउने योजना केही समयको लागि पछि सारेका छन् । उनको अहिले विराटनगरस्थित आँखा अस्पतालमा उपचार भइरहेको छ । महिला फुटवलकी प्रशिक्षक भगवती राना मगरका अनुसार समिक्षा एकदमै सम्भावना बोकेको प्रतिभाशाली उदयीमान खेलाडी थिइन् । यो घटनाले आफु पनि स्तब्ध भएको उनले बताइन् । ‘राम्रो, उदयीमान खेलाडी थिइन्,’उनले भनिन् ।

लकडाउनले घरमै बसिरहेकी समिक्षा बैशाख १२ गते घरको खेतमा कोदालो खन्दै गर्दा ढुंगा उछिट्टीएर आँखामा लागेको थियो । शुरुवातमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भएको थियो । केही दिनपछि उनलाई विराटनगर आँखा अस्पताल लगिएको हो । वीपीले नै उनको आँखाको दृष्टि गुमेको जानकारी गराइसकेको थियो ।

आँखाभित्रै ढुंगा गाडिएको र इन्फेक्सन पनि धेरै भएकोले समिक्षाको आँखा नै निकालेर कस्मेटिक(कृत्रिम) आँखा लगाउने चिकित्सकहरुको सल्लाह थियो । तर, हालकै आँखा चलमलाउने र इन्फेक्सन हुदै गएकोले उनको दाहिने आँखा स्टिच गरेर केही समय हेर्ने चिकित्सकले जानकारी दिएका छन् । समिक्षाको उमेर भर्खर १६ बर्ष मात्र छ । सानैदेखि फुटवल मोह भएकी उनले वेलकाबाट मात्र नभएर सुनसरीको क्लबबाट पनि फुटबल खेलिसकेकी थिइन् । उनले काठमाण्डौंमा सम्पन्न क्विक्स् कप अन्तरविद्यालयमा उत्कृष्ट खेल प्रर्दशनसमेत गरेकी थिइन् । उनको उपचारमा एन्फाले पनि सहयोग गरेको छ ।