धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रसुती वार्डलाई सिल गरिएको छ ।

जिल्ला अस्पताल धनकुटाकी कोरोना संक्रमित नर्सले रिफर गरेको एक सुत्केरी विरामी महिला प्रसुती वार्डमा भर्ना भएको पत्ता लागेपछि सिल गरिएको हो । विभागीय प्रमुख प्रा.डा.मोहनचन्द्र रेग्मीका अनुसार धनकुटाको जिल्ला अस्पतालमा २ जना ज्वरो आएका महिला आएका थिए । ती मध्ये एक जनालाई नर्सले वीपीमा रिफर गरेकी थिइन् ।

ती महिला शुक्रबार वीपीको गाइनो वार्डमा भर्ना भएकी थिइन् । उनको दुई साता अघि अप्रेशनमार्फत धनकुटा अस्पतालमा बच्चा भइसकेको छ । डिस्चार्ज भएर घर गएकी सुत्केरी इन्फेक्सन भएपछि पुनः अस्पताल आएकी थिइन् । उनलाई ती संक्रमण पुष्टि भएको नर्सले नै धरान रिफर गरेको पाइएको छ ।

डा.रेग्मीका अनुसार ती महिलालाई आइसोलेशनमा राखिएको छ । साथै, ती महिलाको पिसिआर रिपोर्ट नआएसम्म नयाँ विरामी भर्ना गर्न रोक लगाइएको छ भने वार्डमा भएका महिलाहरुलाई डिस्चार्ज पनि दिइनेछैन । ‘धनकुटामा ज्वरो आएको २ जना मध्ये एकजना यहाँ रिफर भएको रहेछ, उनलाई संक्रमित स्वास्थ्यकर्मीले नै रिफार गरेको खुलेकोले यो निर्णय लिइएको हो,’डा.रेग्मीले भने,‘रिपोर्ट नआएसम्म नयाँ विरामी भर्ना लिदैनौं, र डिस्चार्ज पनि गर्दैनौं ।’