धरान: धनकुटा जिल्ला अस्पतालकी कोरोना संक्रमित महिला स्वास्थ्यकर्मीलाई विराटनगर पठाइएको छ ।

संक्रमित स्वास्थ्यकर्मीलाई विराटनगरस्थित कोभिड १९ उपचार केन्द्र पठाइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेट डा.पुजन विश्वकर्माले जानकारी दिए । उनका अनुसार संक्रमित स्वास्थ्यकर्मीको ट्राभल हिष्ट्री छैन । लकडाउन भएदेखि सबै स्वास्थ्यकर्मीहरु कोही पनि बाहिर नगएको र नियमित अस्पतालमा उपचारमा खटिएकोले विरामीबाट नै सरेको प्रारम्भिक निष्कर्षमा पुगेको उनले बताए ।

‘हामी कोही पनि बाहिर गएकै छैनौं, कसैको पनि ट्राभल हिष्ट्री छैन । चौबिसै घण्टा सेवामा छौं,’डा.विश्वकर्माले भने,‘विरामीबाट नै सरेको निष्कर्षमा पुग्यौं ।’ उनले संक्रमित विरामी को थिए, कहाँबाट आएका थिए भन्ने पत्ता लगाउन निक्कै मश्किल हुने बताए । पछिल्लो समय धनकुटामा बाहिरबाट धेरै मानिसहरु आएको कारण पनि संक्रमित व्यक्ति को थिए भन्न मुश्किल हुने डा.विश्वकर्माले बताए ।

५ सय जनाको स्वाब परीक्षण गरिने

धनुकटा जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीसहित कुल ५ सय जनाको कोरोना परीक्षणको लागि स्वाब लिने तयारी गरिएको छ । अस्पतालमा ५५ जना स्वास्थ्यकर्मीहरु कार्यरत रहेको पनि डा.विश्वकर्माले बताए । ‘हिजोदेखि सिल भएपछि जो जो अड्किए छौं, सबैको परीक्षण गर्नुपर्नेछ,’उनले भने,‘कन्ट्याक्ट ट्रेसिङ गर्दासहितको ५ सयको परीक्षण गर्नुपर्नेछ ।’