धरान: पहिलो पटक कोरोना भाइरस(कोभिड १९) भेटिएको धनकुटा जिल्लामा संक्रमण फैलन नदिन अस्पतालसहित संक्रमित क्षेत्रलाई सिल गरिएको छ ।
एक जना संक्रमित भएको रिपोर्ट आएपछि आइतबार राती जिल्ला संकट व्यवस्थापन समितिको आकस्मिक बैठक बसेर अस्पताल क्षेत्र आसपासलाई चार किल्ला कायम गरेर सिल गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । सम्भावित प्रभावित क्षेत्रका जनताहरुको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै संक्रमित क्षेत्रलाई सिल गरिएको धनकुटामा प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले जानकारी दिए ।
सिल गरिएको क्षेत्रमा आवातजावत ठप्प पारिएको छ । अटेर गर्नेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिने प्रशासनले जनाएको छ । सिल गरिएको क्षेत्रमा नेपाली सेनतासहित सबै सुरक्षा निकाय परिचालन गरिएको छ । प्रजिअ विमलीका अनुसार धनकुटाको वडा नं ७ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रदेखि बसपार्क, बसपार्कदेखि जिरो पोइन्ट, जिरोपोइन्टदेखि परिचय मोडे, परिचय मोडदेखि यलम्बर चोक, यलम्बर चोकदेखि सिनेमा हल, सिनेमा हलदेखि याक्चना घाट जाने त्रिवेणी चोकसम्मको चारकिल्ला भित्रको क्षेत्रलाई अर्को आदेश नभएसम्म सिल गर्ने निर्णय गरिएको छ । ‘चारकिल्लाको क्षेत्रमा पुर्णरुपमा आवागमन निषेध गरिएको छ,’विमलीले भने ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणको रिपोर्ट अनुसार हिजो धनकुटामा पनि एक जना संक्रमित पुष्टि भएको थियो । संक्रमित महिला धनकुटा जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी थिइन् । उनी धनकुटा बजारमा बसेर नियमितरुपमा विरामीको उपचारमा खटिएको बताइएको छ । संक्रमित पुष्टि भएकी स्वास्थ्यकर्मीलाई आइतवार साँझदेखि नै आइशोलेनमा राखिएको छ भने उनलाई आज विराटनगरस्थित कोभिड १९ अस्पताल पठाइनेछ । यस्तै, अस्पतालमा २१ दिन अघिसम्मका सेवाग्राहीहरुको कन्ट्याक्ट ट्रेसिङ गरेर परीक्षण पनि गरिनेछ ।

 
                    _1704867435.jpeg) 
		 
                                         
                     
                     
		


 
		 
		 
		 
		



