धरान: कोरोना संक्रमण जोखिम भएको भन्दै गाइनो वार्ड सिल गरिएको बेला वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने भोली मंगलबारदेखि ओपिडी सेवा शुरु गर्ने जनाएको छ ।

कोरोना महामारीको कारण बन्द रहेको ओपिडी सेवा उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीको निर्देशन अुनसार सञ्चालनमा आउन लागेको हो । आज दिउँसो अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले सम्बन्धित विभागहरुको निरीक्षण गर्दै ओपिडी सेवा सञ्चालन गरिने भएकोले तयारी थाल्न निर्देशन दिएका थिए भने सुचना जारी गर्दै मंगलबारदेखि ओपिडी सेवा सञ्चालन हुने जानकारी गराएका छन् । तर, संक्रमणको जोखिम अस्पताल क्षेत्रमा धेरै हुने र धनकुटाकी संक्रमित नर्सले रिफर गरेको विरामी(सुत्केरी) भर्ना भएको खुलेपछि गाइनो वार्ड सिल भएको बेला ओपिडी सेवा शुरु गर्नु कतिको उचित हुन्छ ? भन्ने प्रश्न पनि उब्जिएको छ ।

यता, प्रतिष्ठानका उपकुलपति डा.गिरी भने जोखिम वा संक्रमण फैलन नदिन पुर्ण सुरक्षाको उपाय अपनाएर नै ओपिडी सेवा शुरु गर्न लागेको बताएका छन् । कोरोना बाहेकका विरामीहरुलाई पनि उपचार सेवा दिनुपर्ने भएकोले मन्त्रालयकै निर्देशन अनुसार ओपिडी शुरु गरिन लागेको उनको भनाई छ । ‘संक्रमण नफैलियोस् भनेर सामाजिक दुरी कायम राख्छौं । मेट गेटमा नै विरामीहरुको तापक्रम नापेर टोकन दिएर प्रवेश गराउछौं,’उनले भने,‘हात धुन सेनिटाइजरको पनि व्यवस्था हुन्छ ।’

विभागहरुसँग समन्वय गरेर विरामी संख्यालाई सिमित राखिने अस्पताल निर्देशक डा.साहले जानकारी दिएका छन् । मेन गेटबाटै टोकन वितरण गरिने र टोकनको आधारमा विरामी दर्ता गरेर ओपिडी कार्ड दिइने उनले जानकारी दिएका छन् । हरेक विरामी र भिजिटरलाई मास्क अनिवार्य गरिनेछ ।

opd-notice