धरान: सुनसरीमा पहिलो पटक भेटिएका कोरोना संक्रमित भारतको दिल्लीबाट आएको खुलेको छ ।

संक्रमित युवा गढी गाउँपालिकाका हुन् । उनी गढी वडा नं २ स्थित निमावि विद्यालयको क्वारेन्टाइन भवनमा राखिएका छन् । उनीसँगै धरानका एक युवा पनि दिल्लीबाट आएका थिए । लकडाउनले यातायातका सेवाहरु बन्द भएकोले हिडेर १३ दिनमा नेपालको बोर्डर जोगवनीसम्म आइपुगेका थिए । गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवका अनुसार दिल्लीबाट हिडेर आएका ८ जनाको टोलीलाई बैशाख ३० गते जोगवनीबाट नेपाल ल्याइएको थियो । उनीहरुलाई एम्बुलेन्समा लिन गाउँपालिका अध्यक्ष यादव आफै जोगवनी पुगेका थिए ।

अध्यक्ष यादवका अनुसार बोर्डरमा विचल्ली अवस्था भएपछि सुरक्षा निकाय, सिडिओ सबैतिरबाट आग्रह भएपछि उनी एम्बुलेन्समा लिन गएका थिए । ती ८ जनाको टोलीमा ५ जना गढीका थिए भने १ जना धरान, १ जना पथरी र १ जना इनरुवामा युवा थिए । ‘सबै एक रात यहाँ बस्यो, र भोलीपल्ट आआफ्नो पालिकाले लगेको थियो,’अध्यक्ष यादवले भने,‘यहाँ ५ जना क्वारेन्टाइनमा छ, ती मध्ये एक जनाको कोरोना पोजेटिभ रिपोर्ट आयो ।’ उनका अनुसार सुर्खेतमा काम गर्न गएका युवाहरु कम्तीमा ३० जना आउने भएकोले क्वारेन्टाइन थप गर्ने काम भइरहेको छ ।

संक्रमितसँगै आएका धरानका युवा कहाँ छन् ?

गढी गाउँपालिकाका संक्रमित युवासँगै धरानका एक युवा पनि दिल्लीबाट आएका थिए । उनी धरानको वडा नं २० का हुन् । रोजगारीको लागि दिल्ली गएका ती युवा लकडाउनले समस्यामा परेपछि हिडेर नै १३ दिनमा जोगवनी बोर्डरसम्म आइपुगेका थिए ।

उनीहरुलाई गढी गाउँपालिकाले बैशाख ३० गते जिम्मा लिएर नेपाल ल्याएको थियो । गढीमा एक रात बसेर उनीहरुलाई भोलीपल्ट आ आफ्नो गाउँपालिकाले जिम्मा लियो । हाल ती युवालाई धरानको फुस्रेस्थित सैनिक आवासिय महाविद्यालयको क्वारेन्टाइनमा राखिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । ‘क्वारेन्टाइनमा ७ जना छन्, उनीहरुको हिजो मात्र स्वाब कलेक्सन भएको छ, सायद आज रिपोर्ट आउछ,’मेहताले भने,‘७ जना मध्ये ५ जना भारतबाट आएका हुन् । २ जना उदयपुरबाट आएको हो ।’