धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसन वार्डमा रहेका एक युवा कोरोना संक्रमित भएको पाइएको छ ।

प्रतिष्ठानको ल्याबमा गरिएको स्वाब परीक्षणमा ती युवाको रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठान स्रोतले जनाएको छ । ती युवा इटहरीका १८ बर्षीय हुन् । उनी आफ्नो बुवासँगै आइसोलेसन वार्डमा छन् । ज्वरो आएपछि ती युवा हिजो इटहरीबाट वीपी प्रतिष्ठानको हेल्प डेस्कमा आएका थिए । उनलाई हेल्प डेस्कबाट आइसोलेसन वार्डमा पठाइएको थियो । उनी आफ्नो बुबासँगै आएका थिए ।

प्रतिष्ठान स्रोतका अनुसार उनी वीपीमा आउनुअघि इटहरीकै एक क्लिनिकमा पनि पुगेको खुलेको छ । त्यहाँबाट नै उनलाई वीपीमा रिफर गरिएको थियो । यस्तै, एक जना सशस्त्र प्रहरी जवानको पनि रिपोर्ट पोजेटिभ आएको स्रोतले जनाएको छ । ती प्रहरी पश्चिम कुसाहमा कार्यरत रहेको बताइएको छ ।

र्यापिड रेस्पोन्स टिमका सदस्य तथा मेडिसिन विभागीय प्रमुख प्रा.डा.सञ्जिव शर्माले आइसोलेसनमा रहेका युवा पोजेटिभ रहेको पुष्टि गरे । उनले ती विरामीलाई विराटनगरस्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा पठाउने तयारी भइरहेको जानकारी दिए । ‘उनलाई विराटनगर पठाउछौं, र त्यो ठाउँलाई डिस्इन्फेक्ट गछौ,’डा.शर्माले भने,‘हाम्रा स्वास्थ्यकर्मीहरु पुल सिस्टममा काम गर्छन् । उहाँहरु अलग्गै बस्नुहुन्छ ।’