विराटनगरः आगामी जेठ १४ देखि हुने प्रदेश एकको छैटौँ एवंम वजेट अधिवेशनका लागि सांसदहरुको कोरोना परिक्षण भइरहेको छ । विराटनगरस्थित संसद भवन प्राङगणमा आज पहिलो दिन सुनसरी र मोरङका सांसदहरुको  स्वाव संकलन कार्य जारी छ ।

सांसदसँगै संसदसचिवालयका सम्पुुर्ण कर्मचारी र सांसदहरुका सवारी चालकको पनि स्वाव संकलन गरिदै छ । दिउँसो तीन बजेसम्म चल्ने स्वाव संकलनमा संसदीय वीटमा कलम चलाउने पत्रकारको पनि स्वाव संकलन गरिने संसद सचिवालयका सुचना अधिकारी जयनारायण अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार भोली र पर्सी सुनसरी र मोरङबाहेकका सांसदहरुको स्वाव संकलन गरिनेछ ।

यसरी व्यवस्थापन हुँदैछ संसद बैठक

File Photo-click dharan
कोरोना त्रासले स्थगित भएको पाँचौ एवंम हिउँदे अधिवेशन गत वैशाख ३ गते राती १२ बजेदेखि स्वतः अन्त्य हुने जानकारी प्रदेश प्रमुखमार्फत गराउँदै प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले सुचना जारी गरेका थिए । जेठ ६गतेसम्म अर्को सुचना नआन्जेल स्थगित भएको संसद बैठक जेठ ६ गते नै अर्को सुचना जारी गरि प्रदेश प्रमुख सोमनाथ अधिकारीमार्फत बजेट अधिवेशन आव्हान भएको थियो ।

कोरोना संक्रमणको जोखिमकै बीच चालुहुन थालेको संसद बैठकलाई व्यवस्थित र सामाजिक दुरी कायम हुने गरि सँचालनको तयारी भएको छ । सुचना अधिकारी जयनारायण अधिकारीका अनुसार साविक संसद बैठक हलमा ६० जना मात्र बस्न मिल्ने गरिको कुर्सि व्यवस्थापन गरिएको छ । यस अघि यहाँ सभामुख, उपसभामुख सहित ९३ कुर्सी, संसद सचिव, २० पत्रकारको कुर्सी र २० अतिथिको कुर्सि व्यवस्थापन गरिएको थियो ।

तर, अब भने ६० सांसदमात्र अट्ने गरि बाँकी सबै कुर्सी हटाइएको छ । त्यस्तै संसदीय रिपोर्टिङमा खटिने पत्रकारका लागि नेपाली काँग्रेसको संसदीय दलको बैठक कक्ष उपलब्ध गराइने छ भने नेकपा संसदीय दलको बैठकमा बाँकी सांसद अट्ने मिल्ने अडियो भिजुअलको व्यवस्था मिलाइने छ ।