धरान: धरानको महत्वपुर्ण योजना मानिएको सर्दु करिडोरको सामाजिक सर्वेक्षणको काम सुरु भएको छ ।

प्रदेश सरकार मातहतको जलस्रोत तथा सिँचाई डिभिजन कार्यालयले सर्दु करिडोरको सामाजिक सर्वेक्षणको काम आज सोमबारदेखि सुरु गरेको हो । स्वीकृत भएको डिपिआर अनुसार एलाइन्मेट फिक्स गर्न करिडोरमा वाधा अवरोध भए नभएको सुनिश्चित गर्न सोसल सर्वे(सामाजिक परीक्षण) सुरु गरिएको कार्यालयका ईञ्जिनियर कुलदिप यादवले जानकारी दिए । करिडोर वडा १७,११ १६ वडा हुदै १३ मा पुग्नेछ । ति वडाका जनप्रतिनिधिहरुसहित सर्वेक्षण शुरु गरिएको यादवले जानकारी दिए ।

‘एलामेन्टको लागि ठाउँ हेर्न आएको हो । विवादित ठाउँ छ कि छैन, विवाद भए कताबाट लैजाने, करिडोरमा अन्य कुनै योजना छ कि छैन भन्ने हेरिन्छ,’उनले भने,‘विवाद छ भने जनप्रतिनिधिहरुले समाधान गर्नुहुन्छ ।’ यो आयोजनाको मुख्य उद्देश्य सर्दु नदी नियन्त्रण गर्नु रहेको पनि उनले प्रष्ट पारे । सर्दु खोलालाई नियन्त्रणसहितको करिडोरको डिपिआर तयार भएर स्वीकृत समेत भइसकेको यादवले बताए । उनका अनुसार डिपिआर २५ करोड ६ लाख लागत स्वीकृत भइसकेको छ । सोही अनुसार टेण्डर आह्वान पनि भइसकेको डिभिजन कार्यालयका ईञ्जिनियर कुलदिप यादवले जानकारी दिए । उनका अनुसार यो योजना २ बर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

IMG_0801.psd

धरान उपमहानगरपालिकाले करिडोरमा पर्ने पुराना घर तथा वस्तीहरुलाई उचित ठाउँमा स्थानान्तरण गर्ने निर्णय गरिसकेको छ । करिडोर निर्माण हुने भएपछि पनि जर्बजस्ती बसेको वस्ती वा घरलाई भने स्थानान्तरण नगरिने जनप्रतिनिधिहरुको भनाई छ । अहिले भइरहेको सर्वेक्षणले खोलाको भाग छोडेर करिडोरलाई आवश्यक पर्ने जमिन हुन्छ कि हुदैन भन्ने प्रष्ट हुने वडा नं १७ का अध्यक्ष मनोज भट्टराईले बताए । बाँकी रहेको जमिन कति ऐलानी पर्छ, कति नम्बरी पर्छ, कति घरलाई स्थानान्तरण गर्नुपर्ने हो भन्ने प्रष्ट हुने उनको भनाई छ ।

८२ मिटर खोला, ३० मिटर करिडोर

IMG_0798.psd

सिचाई डिभिजन कार्यालयका अनुसार यो आयोजनाको डिपिआर अनुसार ८२ मिटर खोलाको भाग हुनैपर्छ । त्यसपछि मात्र किनारमा ३० मिटरमा करिडोर(सडक)को पुर्वाधार निर्माण हुने ईञ्जिनियर यादवले जानकारी दिए । उनका अनुसार ३० मिटर करिडोरमा पनि साढे ७ मिटर सडक हुनेछ भने बाँकी जग्गामा ड्रेन र ग्रीनरी निर्माण हुनेछ ।

धरानमा सर्दु खोलाले बर्षेनी क्षति पुर्याउदै आएको छ । यो आयोजना कार्यान्वयन पछि सर्दु किनारका वस्तीहरुले राहत पाउनेछन् भने करिडोर निर्माणले भविष्यमा रिंगरोड निर्माणमा पनि महत्वपुर्ण टेवा पुग्नेछ । यो आयोजना स्वर्गीय मेयर तारा सुब्बाकै पालामा संघीय सरकारमा प्रस्ताव गरिएको थियो । अहिले प्रदेश सरकारको बजेटबाट निर्माण हुन लागेको हो ।