धरान: पछिल्लो समय चर्को विवाद हुँदै आएको खानेपानी आयोजनाबारे एक प्राविधिक समिति गठन भएको छ ।

आयोजना असफल भएको भन्ने आरोपसँगै संस्थानलाई बोर्डमा नगाँभिएको बिषयमा पनि चर्को आवाज उठ्न थालेपछि एक प्राविधिक समिति गठन गर्ने निर्णय भएको छ । आज उपमहानगरपालिकाको कार्यपालिका बैठकमा मेयर तिलक राईले निर्णय लिनको लागि पहिला आफु प्रष्ट हुनुपर्ने र त्यसको लागि एक समिति गठन गर्ने प्रस्ताव गरेवमोजिम प्राविधिक समिति गठन गरिएको वडा १७ का अध्यक्ष मनोज भट्टराईले जानकारी दिए । उनका अनुसार यो समिति ३ वा ४ सदस्यीय हुनेछ ।

समितिमा को को रहने भन्ने निर्णय मेयरले उपमेयर तथा अन्य कार्यापालिका सदस्यहरुसँग समन्वय गरेर गर्ने भनिएको छ । ‘खानेपानी आयोजनाबारे चर्को आवाज उठ्न थालेपछि मेयर साबले ठोस निर्णय लिनुअघि प्रष्ट हुन चाहनु भयो, र प्राविधिक समिति गठन गर्ने निर्णय भएको हो,’अध्यक्ष भट्टराईले भने,‘अर्को नगरसभा अघि प्रक्रिया सबै टुंग्याईसक्ने भन्ने छ ।’

अघिल्लो कार्यपालिका बैठकमा पनि एजेण्डा विनै खानेपानीको बिषयले प्रवेश पाएको थियो । अधिकांश कार्यपालिका सदस्यहरुले खानेपानी आयोजनाबारे ठोस निर्णय नआएसम्म थप बैठकमा नबस्ने अडानसमेत लिएका थिए । खानेपानी व्यवस्थापन बोर्डको अध्यक्ष मेयर रहने व्यवस्था छ । सोही बैठकले खोला उत्खनन्को लागि वडा १५ ६, ५ र १७ को अध्यक्षहरु रहेको एक समिति पनि गठन गरेको छ । समितिले स्थलगतरुपमा अध्ययन गरेर राय सुझाव दिए अनुसार प्रक्रिया अघि बढाउने निर्णय भएको कार्यपालिका प्रवक्ता मणिराम राईले जानकारी दिए ।