धरान: सुरक्षाको उपाय अपनाउदै लकडाउन खुकुलो बनाउनुपर्ने माग भएपछि धरानमा दिउँसो २ बजेसम्म बजार खुल्ने भएको छ ।

लकडाउनको बिषयमा मोडालिटी प्रस्तुत गर्न गठन भएको समितिको प्रतिवेदनमाथि आज धरान उपमहानगरपालिका र सुनसरी उद्योग वाणिज्य संघका पदाधिकारीहरुबीच भएको बैठकले समय तालिका बनाएर बजार खोल्ने निर्णय गरेको हो । आज बिहान प्रमुख जिल्ला अधिकारी, वीपी प्रतिष्ठानका चिकित्सकसहित सुरक्षा बैठक भएको थियो । उक्त बैठकले बजार खोल्नेबारे दिउँसो ३ बजे पुनः उपमहानगरपालिका र उद्योग वाणिज्य संघबीच बैठक बसेर निर्णय गर्ने म्याण्डेट दिएको थियो ।

बैठकले तरकारी र खाद्यान्न पसल बिहान ६ बजेदेखि १० बजेसम्म खोल्न दिने निर्णय गरेको छ भने बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म अन्य पसलहरु खोल्न पाउनेछ । तर, सामाजिक दुरी कायम नहुने ब्युटीपार्लर, सैलुन, होटलहरु भने खोल्न नपाइने बैठकको निर्णय छ । ‘बिहान ६ बजेदेखि १० बजेसम्म खाद्यान्न, तरकारी पसल खुल्छ । ९ बजेदेखि २ बजेसम्म कपडा, हार्डवेयरलगायत अन्य पसलहरु खुल्ने निर्णय भएको छ,’सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाले भने,‘पसलहरुमा अनिवार्य सामाजिक दुरी, सेनिटाइजर वा साबुन पानी, मास्कलगायत सुरक्षा अपनाउनुपर्ने छ ।’

bajar-xalfal

बैठकले बैंक तथा बित्तिय संस्थाहरु प्रत्येक दिन नै खोल्ने निर्णय पनि गरेको छ । यसअघि केही बैंकहरु दिन बिराएर मात्र खुल्ने गरेको थियो । बैठकले सामाजिक दुरी कायम नहुने टेम्पो, अटोरिक्साहरु पनि सञ्चालन नगर्ने निर्णय गरिएको उपमेयर मञ्जु भण्डारी सुवेदीले जानकारी दिइन् । ‘सामाजिक दुरी कायम नहुने भएकोले अटोरिक्सा, टेम्पोहरु नखोल्ने भनिएको हो,’उनले भनिन्,‘जनजीवन विस्तारै सहज बनाउदै लैजानुपर्ने आवश्यकता भयो ।’ यस्तै, वडा कार्यालय र नगरपालिका पनि खुला हुनेछ ।

वडा कार्यालय र नगरपालिका पनि सिमित कर्मचारी राखेर खुला हुनेछ । पुर्व मेयर मनोजकुमार मेन्याङ्बो संयोजक रहेको समितिले भने बेलुकी ६ बजेसम्म पसल खोल्न दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई बैठकले संशोधन गरेर दिउँसो २ बजेसम्म कायम गरिएको संघका कार्यसमिति सदस्य विष्णु वरालले बताए । उनका अनुसार प्रतिवेदन अनुसार व्युटी पार्लर, सैलुन, जिमहल, सिनेमा हल, होटल तथा लज, रेष्टुरेन्ट एण्ड बार, दोहोरी डान्स बार तथा ठेलामा राखेर बिक्री गरिने चटपटे, पानीपुरी तथा फाष्टफुडका सामाग्रीहरु अर्काे निर्णय नहुन्जेलसम्मका लागि नखोलिने निर्णय भएको छ ।