भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा भिडन्त भएको छ ।

सोमबार राती भएको उक्त भिडन्तमा तीन भारतीय सैनिकको मृत्यु भएको भारत सरकारले पुष्टि गरेको छ। भारत सरकारका अनुसार भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा उक्त घटना भएको हो। बीबीसी हिन्दीका अनुसार भारतीय सेनाले भारत-चीन सीमामा सोमवार राति भिडन्त हुँदा एक वरिष्ठ सैन्य अधिकारी र दुई सैनिकको मृत्यु भएको पुष्टि गरेको छ।

सेनाका अनुसार दुई देशका वरिष्ठ सैन्य अधिकारीहरू विवाद समाधान गर्न वार्ता गर्दैछन्। केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको भारतीय पक्षको भनाइ छ। सन् १९७५ पछि पहिलोपटक नियन्त्रण रेखामा भारतीय सेनाको ज्यान गएको हो । एक महिनादेखि लद्दाखमा भारतले गरेको बाटो विस्तारलाई लिएर दुई देशबीच नयाँ तनाव उत्पन्न भएको थियो । दुवै मुलुकले सीमाक्षेत्रमा आफ्नो सैनिकको संख्या बढाएका थिए भने ६ जुनमा वार्ता पनि भएको थियो ।