बिराटनगर: ईलाका प्रहरी कार्यालय सुरुङ्गा झापामा कार्यरत प्रहरी जवान कमल अर्याल जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरीहरु मध्येबाट जिम्मेवारी तथा कार्य सम्पादनमा उत्कृष्ट गरेवापत मनोवल बढाउन प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी घोषणा गर्दै आइरहेको छ । जेठको सर्वोत्कृष्ट प्रहरी घोषित अर्यालले उच्च मनोबल र साहसका साथ अवैध लागु औषध ब्राउन सुगर कारोबारमा संलग्न ब्यक्ति, अबैध काठ चोरी निकासीमा संलग्न व्यक्तिहरु तथा अवैध रुपमा लुकाई छिपाई राखेको हातहतियारका गोली तथा अन्य घरायसी हात हतियारसहित अवैध गतिविधिमा संलग्न ब्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भएको प्रदेश प्रहरी कार्यालयको भनाई छ ।

उनले सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति दिलाए प्रहरीको छवि उच्च बनाएको भन्दै प्रदेश प्रहरी कार्यालयले अर्याललाई जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको जानकारी दिएको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरेर उत्कृष्ट कार्यको बिवरणसहितको फ्लेक्स प्रिण्ट गरी १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भमा राखिन्छ भने प्रदेश भरिको क स्तरको ईलाका प्रहरी कार्यालयहरुमा १ महिनासम्म राखिने गरिएको छ ।