धरान: होटल म्यानेजमेन्टमा चर्चित धरान १६ स्थित यु.एन.नवोदय कलेजले नवोदय विद्या मन्दिर इङ्लिस बोर्डिङ स्कुलको स्वामित्व ग्रहण गरेको छ ।

कलेजले आज पत्रकार सम्मेलन गर्दै लेखनाथ चोकस्थित स्कुलको सम्पुर्ण स्वामित्व ग्रहण गरेको जानकारी दिएको हो । साथै, यसै शैक्षिक सत्रबाट कलेज मातहतबाट स्कुल सञ्चालन गर्ने पनि सञ्चालकहरुले जानकारी दिएका छन् । यसअघि कलेज र स्कुलका सञ्चालकहरु एकै भए पनि स्वामित्व अलग थियो । स्कुल गजेन्द्र आचार्यको स्वामित्वमा थियो । अब भने सो स्कुलको स्वामित्व कलेजमा आएको छ ।

कलेजका प्राचार्य तथा स्कुलका प्रअसमेत रहेका डम्बर कुमार तुम्बापोका अनुसार नयाँ व्यवस्थापन समितिको सञ्चालनको अवसरमा पहिलो बर्ष यपाली स्कुल युनिफर्म परविर्तन गर्ने र सबै विद्यार्थीहरुलाई युनिफर्म निःशुल्क उपलब्ध गराउने जानकारी दिए । पहिलो वर्ष अभिभावकलाई आर्थिक भार नबोाउन स्कुलले नै युनिफर्म दिने उनको भनाई थियो ।

स्कुल धरान १६ स्थित लेखनाथ चोकमा रहेको छ भने कलेज धरान १६ कै अन्नपुर्ण चोकमा अवस्थित छ । सञ्चालक समितिका अध्यक्ष ज्ञानेश्वर झाले स्कुल र कलेजले समयसापेक्ष एवं गुणस्तरीय शिक्षा प्रदान गर्ने बताए । कोभिड १९ को महामारीका कारण यस बर्षको शैक्षिक सत्र प्रभावित बने पनि समय र परिस्थिति अनुसार स्कुलले डिजिटल प्रविधिबाट कक्षा सञ्चलान गराईरहेको अध्यक्ष झाले जानकारी दिए ।