धरान: धरान १५ स्थित खोरिया बस्ती पुर्व सेउती खोलामा पक्की पुल तयार भएर सञ्चालन आइसक्यो । स्थानीयहरु अब वारी पारी गर्न बर्षामा सेउती खोलामा हेलिनुपर्ने छैन ।

तर, त्यही निर्माण भएको पुलदेखि केही पुर्व धरान ५ मा पर्ने अधेरी खोलामा भने निर्माणाधिन पुल अलपत्र अवस्थामा छ । ठेकेदार सम्पर्कविहिन हुँदा ३ बर्षअघि निर्माण शुरु भएको पुलको पिलर मात्र ठडिएका छन् । स्थानीयबासीहरु बर्षामा जोखिम मोलेर अधेरी खोला तर्न बाध्य छन् कि उनीहरु लामो बाटो(तल्लो पानवारी) हुदै यात्रा गर्न बाध्य छन् ।

पुल निर्माण समन्वय समितिका संयोजक पदम कार्कीका अनुसार इनरुवाका हजमुल मियाँले ठेक्का पाएर २०७४ सालदेखि निर्माण शुरु भएको हो । पहिलो सम्झौता अनुसार दुई बर्षभित्र अर्थात २०७६ असार २५ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर, ३ बर्ष बितिसक्दा पनि निर्माण सकिएको छैन । पछिल्लो समय २०७७ असार २५ गतेसम्मको लागि म्याद थप भएपनि कुनै काम भएको छैन । ‘पुल निर्माण नहुँदा यातायातको साधन, मानिसहरु आवतजावतमा असहज भइरहेको छ । विद्यार्थीहरु स्कुल र बजार जान दैनिक समस्या भइरहेको छ,’संयोजक कार्कीले भने,‘ सुनसरी मोरङ पुल आयोजना, इटहरीमा गयौं, तर सुनुवाई नै भएको छैन । काम भएको छ छैन भनेर अनुगमन गर्ने र ठेकेदारलाई कारबाही गर्नुपर्ने हो, त्यो पनि भएन ।’

adheri 1

यो पुल संघीय सरकारको भौतिक योजना तथा निर्माण मन्त्रालयबाट विनियोजन भएको बजेटले निर्माण शुरु भएको हो । पुल साढे ७ करोडमा ठेक्का लागेको थियो । यसको लम्बाई १२५ मिटर र चौडाई ११ मिटरको छ । ठेकेदारले पुल निर्माण गर्दा शुरुको बर्ष अधेरी खोलाबाट अवैधरुपमा उल्टै ढुंगागिट्टी निकालेर इनरुवातिर बिक्री गरेको मकुम राईले बताए । ‘यहाँ काम गरेजस्तो गरेर ढुंगागिटी इनरुवातिर लगेर बेच्यो । हामीले समातेर प्रहरीमा बुझायौं पनि,’उनले भने,‘एक बर्षमा ८, १० वटा मोटरसाइकल बगाउछ, मान्छे पनि बगाउछ । ज्यादै दुःख भइरहेको छ ।’

ठेकेदारले दिएको चेक बाउन्स

adheri1

ठेकेदार मियाँको वद्मासी यतिमै सिमित छैन । उनले ढुंगा आपूर्ति गरेवापत दिएको चेक बाउन्स भएको छ भने ज्यालादारीमा काम गर्नेहरुलाई अझै पैसा दिएका छैनन् । ‘ढुंगा आपूर्ति गरेका थियौं, त्यसवापत चेक दिएको थियो । तर, बैंकमा जादा खातामा पैसा नै छैन रहेछ,’प्रेमकुमार राईले भने,‘हामीलाई ठगी गरेको छ । ज्यालादारी काम गर्ने १५, २० जनालाई पैसा दिएको छैन ।’