धरान: कोभिड–१९ को कारण सरकारले गरेको लकडाउनको अवधिमा उद्योग, व्यवसाय ठप्प हुँदा व्यवसायीहरुलाई घरभाडा छुट गर्ने धरधनीहरुलाई सुनसरी उद्योग वाणिज्य संघले सम्मान गरेको छ ।

संघले आज सोमबार सम्मान कायृक्रम आयोजना गरि ४१ जना घरधनीहरुलाई सम्मान गरेको हो । लकडाउनको समयमा उद्योग व्यवसायी परेको समस्या तथा पीरमर्कालाई बुझेर घरभाडा छुट गरेको कारण सम्मान गरिएको संघले जनाएको छ । सरकारले चैत १० गतेदेखि लकडाउन गरेको थियो । त्यसयता लामो समय बजार तथा व्यापार, व्यवसाय ठप्प भएको थियो ।

सम्मानित हुने पहिलो संस्था धरान उपमहानगरपालिका रहेको थियो । उपमहानगरपालिकाले भाडामा लगाएको आफ्नो कोठाहरुका व्यवसायीहरुलाई भाडा छुट गरेको थियो । यस्तै, मेयर राईकी पत्नी रिना राई पनि सम्मानित भइन् । उनको घरमा सञ्चालित व्यवसायीहरुलाई छुट दिएको कारण सम्मानित भएकी हुन् । यस्तै, संघका सल्लाहकार प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, भूतपूर्व अध्यक्ष पवनकुमार अग्रवाल, कार्यसमितिक सदस्य अनिल ताम्राकार, धरान सरोकार समाज, काठमाण्डौंका अध्यक्ष प्रभुप्रसाद श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका मन्त्री मुकुल कायस्थ, मेन्याङ्गवो कल्याणकारी संघ, समाजसेवी पिङ्गला न्यौपाने लगायत ४१ जना सम्मानित भए ।

samman1

संघका अध्यक्ष गिरिधारी सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा धरानका मेयर तिलक राई प्रमुख आतिथि तथा उपप्रमुख मन्जु भण्डारी विशेष अतिथि रहेको थिए । मेयर राईले घरभाडा छुटका लागि दबाब दिनुभन्दा स्वघोषित रुपमा घरधनी र भाडावाला दुवै पक्षको सहमतिमा छुट दिदा विवाद नहुने बताए । साथै उनले घरधनीले घरबहाल कर पनि स्वघोषित रुपमा घोषणा गरि आफ्नो आयलाई वैधानिक बनाउन आग्रह पनि गरे ।

संघका अध्यक्ष सापकोटाले लकडाउनको कारण पर्यटन, उद्योग, यातायात व्यवसायी र स्थानीय व्यवसायीहरु मारमा परेको बताए । यो बेला मनकारी घरधनीहरुले घरभाडा छुट गरेकोमा सम्पूर्ण व्यवसायीको तर्फबाट आभार प्रकट गरेका थिए । घरधनीका तर्फबाट प्रभुप्रसाद श्रेष्ठले “घरधनीले घरबहाल छुट दिए झैं उपनगरपालिकाले पनि करमा छुट दिनुपर्ने” बताए । लकडाउनको अवधिमा ४५ दिन भन्दा माथि ९० दिनसम्म घरभाडा छुट दिने करिब ४१ जनालाई सम्मान गरिएको संघका कार्यसमिति सदस्य विष्णु बरालले जानकारी दिए । संघका द्वितीय उपाअध्यक्ष अनिल अग्रवालको संयोजनमा भएको कार्यक्रमको सञ्चालन महासचिव राजेश अग्रवालले गरेका थिए ।