धरान: अहिले बर्षाको समय छ । नेपालमा बाढी र पहिरोले धेरैको ज्यान पनि लिइसकेको छ ।

धरानको सर्दु र सेउती खोला तथा अन्य साना खहरेहरुमा पनि एकछिन बर्षा हुदा बाढी आउछ । त्यसैले यतिबेला खोलामा पस्नु भनेको ज्यान जोखिममा पार्नु हो । तर, मंगलबार दिउँसो भने धरानका साहसिक पर्यटनकर्मी सेतु सिलवाल भने धरानको सर्दु र सेउतीको बाढीमा हेलिए । उनी त्यतिकै बाढीमा पसेका भने होइनन् ।

सिलवाल धरान १० स्थित सेतु एड्भेञ्चर प्रालिका प्रोपाइटर हुन् । उनी लामो समयदेखि नेपालको प्रमुख नदीहरुमा र्याफ्टिङ गाइड गर्दै आएका छन् । पछिल्लो समय भने उनले धरानमा प्रालि स्थापना गरेर तमोर नदीमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई र्याफ्टिङ गराउदै आएका छन् । त्यसैले उनी मंगलबार सुरक्षा सामग्रीसहित सर्दु र सेउतीको बाढीमा पसेका हुन् ।

kayak12

खासमा उनी बर्षाको समयमा धरानकै यी दुई खोलामा पर्यटकीय गतिविधि गर्न सकिन्छ भनेर परीक्षण गर्न पसेका हुन् । यसको आयोजना भने एक्स्ट्रीम धरानले गरेको थियो । एक्स्ट्रीम नामको यो संस्थामा धरानमा रहेको साहसिक खेलकुदसँग सम्बन्धित संघसंस्थाहरु आवद्ध छ । यही संस्थाले सेतु एड्भेञ्चरसँग सहकार्यमा मंगलबार कायकिङको परीक्षण भएको हो । ठुला नदीमा र्याफ्टिङ गर्दा गाइड र उद्दारकर्ताकोरुपमा कायक पनि हुने गर्छन् ।

बर्षाको समय र्याफ्टिङको लागि अफ सिजन हो, तर यही अफ सिजनलाई अप सिजन बनाउनको लागि पनि परीक्षण गरिएको हो । बर्षाको बेला खोलामा पस्न खतरा हुन्छ, तर साहसिक पर्यटकहरु त्यही खतराको सामना गर्न पनि चाहन्छन् । त्यसैले बर्षामा खेर गइरहेको पानीलाई सदुपयोग गर्दै पर्यटकहरुलाई आकर्षित गर्नुपर्ने एक्स्ट्रीम धरानका सचिव राम राईको भनाई छ ।

kayak16