धरान: खानेपानीको मुहानको पाइपलाइनमा तोडफोड गरेको आरोपमा पक्राउ परेका हर्क साम्पाङलाई प्रहरीले म्याद थप गर्न जिल्ला अदालत लगेको छ ।

म्याद थप गर्न लैजाने क्रममा साम्पाङ समर्थकहरुले अवरोध गर्न खोज्दा इलाका प्रहरी कार्यालय धरानमा केही समय तनावपुर्ण भएको थियो । पक्राउ परेका साम्पाङका समर्थकहरुले आज सहमतिमा छोड्ने कुरा गरेपनि प्रहरीले म्याद थप गर्न लैजादा अवरोध पुर्याउन खोजेको र प्रहरीले महिलाहरुमाथि नै हातपात गरेको आरोप लगाए । ‘छलफल गरेर छोड्ने कुरा थियो, तर डिएसपी बाहिर निस्किए पछि म्याद थप गर्न लैजान खोज्दा हामीले रोक्यौ,’भक्तसिंह राजपुतले भने,‘घम्साघम्सी, ठेलामठेल भयो । महिलाहरुमाथि ज्यादती भयो ।’

police-harka

साम्पाङलाई म्याद थप गर्न प्रहरीले इनरुवा लगिसकेको छ । त्यसपछि पनि उनका समर्थकहरुले प्रहरी कार्यालय गेटअघि प्रर्दशन गरिरहेका छन् । प्रहरीमाथि गालीगलौज गर्दै विरोध प्रर्दशन गरिरहेका छन् । साम्पाङलाई धरान प्रहरीले हिजो राती करिब ९ बजे धरान १८ स्थित बुद्ध चोकबाट पक्राउ गरेको थियो । धरान खानेपानी व्यवस्थापन बोर्डले साम्पाङविरुद्ध खानेपानी पाइपलाइन तोडफोड गरेको भन्दै प्रहरीमा जाहेरी दिएको थियो ।

धरानमा गएको मेयर पदको उपनिर्वाचनमा साम्पाङ स्वतन्त्र उम्मेदवार थिए । पछिल्लो समय उनी धरानको विभिन्न मुद्दाहरुमा सामाजिक सञ्जालबाट आवाज उठाउदै आइरहेका छन् । साम्पाङ नेतृत्वको एक समुहले केही दिनअघि खानेपानीको मुहान सर्दु र खर्दुमा गएर धरान खानेपानी आयोजनाको पाइपलाइनमा क्षति पुर्याएका थिए । उनले पाइपलाइन खुस्काएको मात्र दाबी गर्दै आएका छन् ।