धरान: खानेपानीको मुहानमा पाइपलाइन तोडफोड गरेको आरोपमा प्रहरीले हर्क साम्पाङलाई पक्राउ गरेको छ ।

उनलाई धरान १८ स्थित बुद्ध चोकबाट भर्खर (मंगलबार राती ९ बजे) पक्राउ गरेको हो । उनलाई अहिले प्रहरीले ईलाका प्रहरी कार्यालयमा लगेर राखेको छ । साम्पाङको नेतृत्वमा गएको टोलीले सोमबार धरानको खानेपानीको मुहान सर्दु र खर्दुको इन्टेकमा जडान गरिएको खानेपानी आयोजनाको पाइपलाइन खुस्काउनुका साथै तोडफोड गरेका थिए । यो घटनामा खानेपानी संस्थानका निमित्त प्रमुख रामकुमार श्रेष्ठ पनि मुछिएका छन् ।

खानेपानीको मुहान क्षेत्रमा गरिएको तोफफोडबाट डेढ लाख हाराहारीमा क्षति पुगेको बताइएको छ । सोही घटनामा धरान खानेपानी व्यवस्थापन बोर्डले साम्पाङविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रहरीले साम्पाङलाई पक्राउ गरेको हो । पक्राउ परेको बिषयमा साम्पाङले पुष्टि गरे । उनले मोवाइल सम्पर्कमा भने,‘हो, मलाई प्रहरीले पक्राउ गरेर इलाका ल्याएको छ ।’ इलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र बस्नेतले सर्दु र खर्दुमा खानेपानी टंकीको पाइपलाइन तोडफोड गरेको उजुरी आएकोले साम्पाङलाई पक्राउ गरिएको बताए ।