बिराटनगर: ईलाका प्रहरी कार्यालय दमक झापामा कार्यरत प्रहरी हवल्दार पदम बहादुर खड्का र प्रहरी चौकी खार्ताम्छा खोटाङमा कार्यरत प्रहरी हवल्दार रामकुमार चौधरी क्रमशः असार र श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरी (बेष्ट पुलिस अफ दि मन्थ) घोषित भएका छन् ।

प्रदेश भरिका उत्कृष्ट कार्य गर्ने प्रहरीहरुको मनोवल बढाउन १ नम्बर प्रदेश प्रहरी कार्यालयले हरेक महिना सर्वोत्कृष्ट प्रहरी घोषणा गर्दै आएको छ । आम जनतामाझ प्रहरी संगठनको छवि उच्च बनाउन र नागरिकलाई सुरक्षा अनुभूति गराउने प्रशंसनीय कार्य गर्ने प्रहरीलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरिदै आएको छ ।

दमकमा कार्यरत हवल्दार खड्काले खैरो हेरोइनलगायत लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरु पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनी प्रहरी चौकी महारानीझोडामा दरवन्दी भई इलाका प्रहरी कार्यालय दमकमा कार्यरत छन् । उनलाई असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

यसैगरि, कर्तब्य ज्यान जस्तो जघन्य अपराध गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भएका प्रहरी हवल्दार चौधरीलाई साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो । सशस्त्र प्रहरी सेनामुख खोटाङ दरवन्दी भई चौधरी प्रहरी चौकी खार्ताम्छा खोटाङमा कार्यरत छन् ।